दाहालले बढाए दबाब | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

दाहालले बढाए दबाब

prachanda dahal

काठमाडौं, १७ जेठ । नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दोस्रो बजेट पेस गरेकै दिन बुधबार अर्का अध्यक्ष पुष्पकमल दाहालले एक वर्षअघि एकीकरणका क्रममा भएको ‘आलोपालो सरकार चलाउने’ सहमतिको प्रसंग उप्काउँदै त्यसबाट दायाँबायाँ गरे कोही नटिक्ने बताएपछि पार्टीमा नयाँ तरंग पैदा भएको छ ।

एक टेलिभिजन च्यानलसितको अन्तर्वार्तामा उक्त अभिव्यक्ति दिएकै दिन यसअघि ‘दुई अध्यक्षबीचको गोप्य सहमति’ भनिँदै आएको पत्रसमेत सार्वजनिक हुनुलाई दाहालले पार्टी वा सरकारमध्ये एउटा आफूले पूर्ण रूपमा चलाउन पाउनुपर्ने वातावरणका लागि दबाब बढाएको अर्थमा बुझिएको छ ।

अघिल्लो वर्षको जेठ २ गतेको मितिमा हस्ताक्षरित उक्त पत्रको चौथो बुँदामा ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख छ । अन्तर्वार्तामा अध्यक्ष दाहालले एकता गर्दाको सहमतिप्रति इमानदार हुनैपर्ने उल्लेख गर्दै भनेका छन्, ‘म के विश्वास गर्छु भने केपी ओलीले समय आएपछि सत्ता हस्तान्तरण गर्न अप्ठेरो मान्नुहुन्न । मैले लिन पनि अप्ठेरो मान्दिनँ ।’

दाहालले आफ्नो हैसियत राम्ररी परिभाषित हुनुपर्ने उल्लेख गर्दै सरकारको नेतृत्व एउटाले र पार्टीको नेतृत्व अर्कोले गरेमा सन्तुलन मिल्ने बताएका छन् । सहमतिमा महाधिवेशन नभए फरक स्थिति पैदा हुनेसमेत उनको भनाइ छ ।
केन्द्रीय समितिको कार्यविभाजनका विषयमा आन्तरिक तयारी भइरहेकै बेला आएको दाहालका यी अभिव्यक्तिलाई लिएर विभिन्न टीकाटिप्पणी हुन थालेका छन् । ‘पार्टीभित्र कार्यविभाजनको कुरा चलिरहेको छ, समान अध्यक्ष भनिए पनि उहाँ पार्टीभित्र दोस्रो नेता जस्तो हो,’ नेकपाका एक नेताले भने ।

‘त्यसैले पार्टी वा सरकारमध्ये एउटा पूर्ण रूपमा चलाउने वातावरण बनाउनकै लागि उहाँको यो अभिव्यक्ति आएको हो,’ उनले भने।

नेकपाभित्र ‘एक व्यत्ति एक जिम्मेवारी’ को बहस पार्टी एकताकै बेला पनि भएको थियो । एकता नै टर्न सक्ने भएपछि ओली र दाहाललाई समानान्तर अध्यक्ष बनाउने समझदारी बनेको थियो । दुई अध्यक्षको अभ्यास झन्डै ६ महिना चलेपछि यसमाथि पुनर्विचार गर्नुपर्ने लिखित प्रस्ताव गत मंसिर २९ मा सचिवालय सदस्य वामदेव गौतमले स्थायी समिति बैठकमा गरेका थिए । तत्कालीन एमाले पृष्ठभूमि भए पनि गौतमले दाहालसमेतको समझदारीमा प्रधानमन्त्रीओलीको आलोचना गर्दै एक व्यत्ति एक जिम्मेवारीको प्रस्ताव पेस गरेको त्यतिबेला धेरैको बुझाइ थियो । अहिले पनि दाहालबाट त्यही खालको अभिव्यक्ति आएको हो ।

‘प्रचण्डले पनि त्याग गर्नुभएकैले यो पार्टी एकता भएको हो । त्यसैले जे सहमति भएको छ, त्यो पालना हुनुपर्छ,’ सचिवालय सदस्य गौतमले कान्तिपुरसँग भने, ‘आलोपालो जिम्मेवारीको जुन कुरा आएको छ, त्यो ठीक छ । एउटा व्यक्ति एउटा जिम्मेवारीमा मात्र रहनुपर्छ ।’ दोहोरो जिम्मेवारी भएका कारण पार्टी र सरकार दुवैको काम राम्ररी हुन नसकेको गौतमले टिप्पणी गरे ।

‘सरकार चलाउने अध्यक्षले पार्टीको काम छोड्नुपर्छ र पार्टीको काम गर्ने अध्यक्षले सरकारको काममा जोडिनु हुँदैन,’ गौतमले भने, ‘अबको कार्यविभाजनमा यो विधिबाट जानुपर्छ ।’ हाल ओलीसँग दोहोरो जिम्मेवारी भएकाले तीन महिनामा हुने एकताको काम एक वर्षसम्म पूरा नभएको र सरकारको कामको पनि आलोचना भइरहेको गौतमको निष्कर्ष छ ।

‘सरकार र पार्टीको काम आपसमा मिलेर चलाउने भन्ने समझदारी भएको हो,’ स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भने, ‘दुई अध्यक्षहरू सबै काममा मिलेर जानुपर्छ ।’ तत्कालै नेतृत्व परिवर्तन गर्ने हेतुले नभई विगतका समझदारी र महाधिवेशनसम्मको अवस्थाको विषयलाई इंगित गर्दै दाहालको यस्तो अभिव्यक्ति आएको हुन सक्ने पौडेलको बुझाइ छ ।

अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई आफूले दुःख, सुख र अप्ठेरोमा रक्षा गर्न बल गरिरहेको उल्लेख गर्दै भनेका छन्, ‘यसकारण पनि उहाँले भोलि छाड्नुहुन्न भन्ने म कल्पना गर्न चाहन्नँ ।’

नेपालको आन्तरिक मामिला र पार्टी राजनीतिभित्रसमेत भूराजनीतिक शक्ति सन्तुलनलाई जोडेर व्याख्या गरिने गरेको भन्दै नेकपाकै अर्का एक नेताले दाहालको यो अभिव्यक्ति आएको समयप्रति पनि ख्याल गर्नुपर्ने सुझाए ।

‘विगतमा पालैपालो सरकार चलाउने सहमति भएको कुरा अध्यक्ष दाहालले भारत पुगेर आफ्नै मुखबाट खोलेका थिए,’ ती नेताले भने, ‘अहिले भारतमा नरेन्द्र मोदी सरकारमा अझ बढी शक्तिशाली भएर आएका छन् । मोदीको शपथग्रहणमा ओली जाने अघिल्लो दिन पारेरै दाहालले मुख खोल्नु पनि आफैंमा अर्थपूर्ण छ।’  यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);