घरमै असुरक्षित महिला : सिरहामा एक महिनामा तीन महिलाको पतिबाटै हत्या | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

घरमै असुरक्षित महिला : सिरहामा एक महिनामा तीन महिलाको पतिबाटै हत्या

hinsa

काठमाडौं, १३ जेठ । 

घटना १ 
सिरहा कर्जन्हा नगरपालिका–११ बस्तीपुरको हटलेटवा गाउँकी २९ वर्षीया रितुदेवी ७ जेठ बिहान ६ वर्षीया छोरी पूजाका लागि खाना पकाएर घाँस काट्न गइन् । उनी करिब ११ बजेतिर घर फर्किन् । विद्यालयबाट फर्किएपछि खाना खान भनेर बिछ्यौनामा सुतेकी आमालाई पूजाले उठाउन खोज्दा ‘आमा सुतेकी छ’ भन्दै बाबु चन्देश्वर आफैँले छोरीलाई खाना खुवाए । केही समयसम्म रितुदेवीका बारेमा कसैले पनि चासो दिएनन् । दिउँसो करिब पौने चार बजेतिर पूजाले आमाको मृत्यु भएको भन्दै रुन र चिच्याउन थालिन्, अनि मात्र गाउँलेले यसबारे थाहा पाए । रितुदेवीको शंकास्पद मृत्यु भएको १२ घन्टा नबित्दै पति स्वयंले प्रहरीसमक्ष आफूले घाँटी थिचेर हत्या गरेको स्विकारे ।

घटना २ 
कल्याणपुर नगरपालिका–८ अरङ्की २१ वर्षीया कञ्चन मण्डलको १३ वैशाखमा काठमाडौंको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । आफ्नै घरमा १२ वैशाख बिहान नौ बजेतिर मट्टीतेल खन्याएर आगो लगाएपछि उनको शरीरको करिब ८५ प्रतिशत भाग जलेको थियो । घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका मृतककी सासू र नन्दलाई २ जेठमा पुर्पक्षका लागि सिरहा कारागार चलान गरिएको छ । फरार रहेका पति बेचुको खोजी भइरहेको सिरहा प्रहरीले जनाएको छ ।
घटना ३

 सिरहा नगरपालिका–१४ खिरौना गाउँका रामरेश मण्डलसँग विवाह भएकी २१ वर्षीया मनीषाकुमारी मण्डलको गत १९ वैशाखमा मृत्यु भयो । १६ फागुनमा विवाह भएकी मण्डलकी बाबुले विवाहमा कबोल गरेको डेढ तोलामध्ये चारआना सुन दाइजोमा दिन बाँकी रहेकाले परिवारले कुटपिट गरी हत्या गरेको भन्दै सिरहा प्रहरीमा जाहेरी दिए । प्रहरीले तत्काल पति रामरेश र सासू तारादेवी मण्डललाई पक्राउ ग-यो । छोरीको मृत्युपछि गोलबजार नगरपालिका–८ चोहर्वाका बाबु रघुनाथ मण्डलले विवाहमा ज्वाइँलाई दिएको डिस्कभर मोटरसाइकल फिर्ता ल्याएका छन् ।

बढ्दो महिला हत्या
जिल्ला प्रहरी कार्यालय सिरहाको तथ्यांकअनुसार पछिल्लो तीन आर्थिक वर्षमा महिलासम्बन्धी अपराधका घटना बढ्दै गएको छ । आव ०७२/०७३ मा एक सय पाँच, आव ०७३/०७४ मा एक सय २३ र आव ०७४/०७५ मा एक सय ६८ वटा महिला तथा बालबालिकासम्बन्धी अपराध भएका छन् । तीमध्ये पछिल्लो दुई आवको चारबाहेक अन्यको मुद्दा फैसला भइसकेको सिरहा प्रहरीले जनाएको छ ।

त्यस्तै, चालू आवको चैत मसान्तसम्म भएका एक सय ६० महिला अपराधमध्ये एक सय २३ वटाको निरूपण भइसकेको प्रहरीको भनाइ छ । प्रहरी नायब उपरीक्षक खरेलले संख्यात्मक रूपले महिला तथा बालबालिकासम्बन्धी अपराध बढेको देखिएको स्विकार्दै भने, ‘सचेतनाका कारण पीडित र पीडित पक्षले अपराधका घटना उजागर गर्न थालेपछि संख्या बढेकोजस्तो मात्र लागेको हो ।’

परिवारको मिलेमतो, पति नाइके
गत १२ वैशाख बिहान कल्याणपुर–६ अरङ्स्थित आफ्नै घरमा डेढ वर्षीया छोरी राधा मण्डललाई दूध खुवाएपछि खाना पकाउँदै गरेकी कञ्चनलाई पति, सासू र नन्दले आँगनमा लछारपछार गर्दै मट्टीतेल छर्किएर आगो लगाए । छिमेक र जनप्रतिनिधिसमेतले मृतककी सासू घरमा नरहेको, पति बेचु भारतको अहमदावादमा रहेको र नन्द आफ्नै घरमा रहेको जिकिर गरे ।

कञ्चनले मृत्युअघि दिएको बयानका आधारमा सासू र नन्दलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक माधवराज खरेल बताउँछन् । ‘हत्याका मुख्य अभियुक्त पति फरार रहेकाले खोजी जारी छ,’ उनले भने ।

 विवाहमा चारआना सुन दिन बाँकी रहेकाले विवाह भएको दुई हप्ता नबित्दै फागुनको अन्तिममा माइत आएकी सिरहा नगरपालिका–१४ की मनीषाकुमारी मण्डल चैतको दोस्रो हप्ता पुनः खिरौनास्थित घर फर्किइन् । पति रामरेश, सासू तारादेवी, नन्दसहितले लगातार कुटपिट गरेपछि १९ वैशाख राति उनी आफ्नो ओछ्यानमा मृत अवस्थामा भेटिइन् । ‘छोरी बिरामी छ’ भन्दै छिमेकी घरमा खबर पाएलगत्तै उपचारका लागि तत्काल बाहिर लैजान आग्रह गर्दा पनि नसुनेझैँ गरे, छोरीलाई मारेर ओछ्यानमा सुताएछन्,’ बाबु रघुनाथले भने ।

त्यस्तै, भाउजूसँगको अवैध सम्बन्धका कारण पत्नी रितुलाई कुटपिट गर्दै आएका चन्देश्वरले ७ जेठ बिहान छोरी विद्यालय गएको समयमा पत्नीको घाँटी थिचेर हत्या नै गरे । उनले परिवारका सदस्यकै सहयोगमा छोरीको हत्या गरेको भन्दै मृतक रितुकी बाबु कपुल यादवले जिल्ला प्रहरी कार्यालय सिरहामा किटानी जाहेरी दिएका छन् ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);