देशको बजेटभन्दा व्यापार घाटा बढी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

देशको बजेटभन्दा व्यापार घाटा बढी

byapar ghata

काठमाडौं, १३ जेठ । नेपालको वैदेशिक व्यापार घाटा वार्षिक बजेटभन्दा बढी हुने देखिएको छ । संघीय सरकारले चालू आर्थिक वर्षमा ल्याएको बजेटभन्दा चालू आवमा देशले व्यहोर्ने व्यापार घाटा बढी हुने देखिएको हो । सरकारले चालू आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । तर, चालू आवमा नेपालले कुल १३ खर्ब १९ अर्ब ५२ करोड रुपैयाँबराबरको व्यापार घाटा व्यहोर्ने देखिन्छ ।

चालू आर्थिक वर्षको १० महिनामा नेपालको व्यापार घाटा १० खर्ब ९९ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । अर्थात् नेपालले मासिक औसत १ खर्ब ९ अर्ब ९६ करोड रुपैयाँ व्यापार घाटा व्यहोरिरहेको छ । यसलाई आधार मान्दा आगामी दुई महिनामा नेपालले थप २ खर्ब १९ अर्ब ९२ करोड रुपैयाँ व्यापार घाटा व्यहोर्नेछ । समग्रमा चालू आर्थिक वर्षभित्र नेपालको व्यापार घाटा १३ खर्ब १९ अर्ब ५२ करोड रुपैयाँबराबरको हुने देखिन्छ  ।

अर्थमन्त्री डा. युवराज खतिवडाले मध्यवधि समीक्षामार्फत चालू आर्थिक वर्षको बजेटलाई घटाएर ११ खर्ब ९९ अर्बमा झारेका छन् । राजस्व परिचालन र खर्च गर्ने क्षमता नबढ्दा बजेट घटाउने प्रवृत्ति छ । संशोधित बजेटको आकारलाई हेर्दा बजेटभन्दा व्यापार घाटा सवा खर्ब बढी हुने गरेको तथ्यांकले देखाउँछ ।

विगत पाँच वर्षको तथ्यांकलाई हेर्दा बजेटको आकार र व्यापार घाटाको आकार झन्डै बराबर देखिन्छ । आर्थिक वर्ष ०७०/७१ र ०७१/७२ मा बजेटको आकारभन्दा त्यस वर्ष नेपालले व्यहोरेको व्यापार घाटा ठूलो देखिन्छ । त्यस्तै, ०७३/७४ र ०७४/७५ मा बजेटको आकारभन्दा थोरै मात्र व्यापार घाटा कम देखिन्छ । चालू आर्थिक वर्षमा भने बजेटको आधारलाई व्यापार घाटाले उछिन्ने देखिन्छ ।

 जिडिपीको एकतिहाइ घाटा
चालू आर्थिक वर्षको अन्त्यसम्म नेपालको अर्थतन्त्र (जिडिपी)को आकार ३४ खर्ब रुपैयाँबराबरको पुग्ने अनुमान गरिएको छ । अहिले जिडिपीको आकार ३० खर्ब ७ अर्ब रुपैयाँ पुगिसकेको छ । यसलाई आधार मान्दा नेपालको व्यापार घाटा कुल जिडिपीको एकतिहाइ नाघिसकेको छ । यसरी जिडिपीसँग व्यापार घाटा तुलना गर्दा डरलाग्दो देखिने अर्थविद् पोषराज पाण्डे बताउँछन् ।

‘अर्थतन्त्रको आकार जुन गतिमा बढेको छ, त्योभन्दा द्रुत गतिमा व्यापार घाटा बढिरहेको छ,’ उनले भने, ‘यसले हाम्रो उत्पादन कम भएको तर खपत ज्यादा भएको संकेत गर्छ ।’ यद्यपि, बजेटको आकारभन्दा ठूलो व्यापार घाटा हुनु पनि सामान्य नभएको उनको भनाइ छ । ‘केही अफ्रिकीबाहेक अन्य देशको व्यापार घाटा जिडिपीको एकतिहाइ बराबर भएको देखिँदैन, न्यून नै हुन्छ,’ उनले भने, ‘हाम्रोमा बजेटभन्दा धेरै अनि जिडिपीको एकतिहाइ बराबर व्यापार घाटा छ, यो चिन्ताजनक हो ।’

 व्यापारमा निर्यातको हिस्सा झन् घट्यो
चालू आवको १० महिनामा नेपालले कुल १२ खर्ब ५६ अर्ब ६७ करोडको वैदेशिक व्यापार गरेको छ । यसमा निर्यातको हिस्सा ६.३ प्रतिशत मात्रै रहेको छ भने आयातको हिस्सा ९३.८ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा समीक्षा अवधिमा कुल व्यापारमा निर्यातको हिस्सा १.६१ प्रतिशतले घटेको छ भने आयातको हिस्सा ०.११ प्रतिशतले बढेको भन्सार विभागको तथ्यांक छ ।

समीक्षा अवधिमा नेपालले कुल आयात १९.९१ प्रतिशतले बढेर ११ खर्ब ७८ अर्ब १३ करोड पुगेको छ । निर्यात भने १७.८४ प्रतिशतले बढेर ७८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा कुल व्यापार घाटा २०.०६ प्रतिशतले बढेर १० खर्ब ९९ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

 बजेटले व्यापार घाटा कम गर्ने नीति लिनुपर्छ 

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत व्यापार घाटा घटाउने नीति, योजना तथा कार्यक्रमहरू ल्याउनुपर्ने उद्योगी– व्यवसायीले बताएका छन् । देशको बजेटभन्दा ठूलो आकारको व्यापार घाटा हुनु डरलाग्दो परिस्थिति भएको भन्दै उनीहरूले निर्यात वृद्धि, आयात प्रतिस्थापन र उत्पादन वृद्धि गर्ने गरी बजेट ल्याउनुपर्ने बताएका हुन् ।

आगामी बजेटले चार क्षेत्रलाई प्राथमिकतामा राखेर व्यापार घाटा न्यूनीकरणमा जोड दिनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा बताउँछिन् । ‘निजी क्षेत्रले उत्पादनमूलक उद्योगको विकास, निर्यातयोग्य वातावरण, कृषि र पर्यटनलगायत चार क्षेत्रलाई आधार बनाएर अघि बढ्न सुझाब दिएको छ,’ उनले भनिन्, ‘सोहीअनुसार बजेट आउने अपेक्षा गरेका छौँ ।’

आगामी बजेटले व्यापार घाटालाई विशेष सम्बोधन गर्नुपर्ने नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर बताउँछन् । ‘निर्यात वृद्धि, पर्यटन आय वृद्धि र आयात प्रतिस्थापन गर्ने उद्योगको प्रवद्र्धन गर्नुपर्छ,’ उनले भने, ‘यो सबैका लागि पूर्वाधार आवश्यक छ ।’  यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);