ट्रम्प-सभामुख पेलोसी बीच फेरि चर्कियो वाक्युद्ध | ईमाउण्टेन समाचार

Our Network

असार १ २०८३, मंगलबार

ट्रम्प-सभामुख पेलोसी बीच फेरि चर्कियो वाक्युद्ध

trump-pilosi

एजेन्सी, १० जेठ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा विपक्षी डेमोक्र्याटिक दलकी नेत्री एवम् प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीबीचको वाक्युद्ध चर्किएको छ।

पेलोसीले राष्ट्रपति ट्रम्पमाथि रिसाहा व्यवहार देखाएको भन्दै उनको परिवार वा कर्मचारीले देशको हितमा उनको स्वास्थ्यलाई लिएर हस्तक्षेप गर्नुपर्ने बताइन्।

प्रत्युत्तरमा ट्रम्पले पेलोसीको मानसिक अवस्थामा प्रश्न उठाउँदै ‘क्रेजी न्यान्सी’ भनिदिए। पछिल्लो चर्काचर्की दुई बीचको बैठकबाट ट्रम्प अचानक उठेर हिँडिदिएको एक दिन पछि भएको छ। पूर्वाधारसम्बन्धी छलफल गर्न डाकिएको उक्त बैठकमा आफूमाथि नक्कली अनुसन्धान बन्द गर्न भन्दै ट्रम्प पेलोसी तथा अर्का डेमोक्र्याटिक नेता चक शुमरसँग कड्किएका थिए ।

हाल दुई दलबीचको सम्बन्ध न्यून विन्दुमा पुगेको छ।

बिहीवार आयोजित साप्ताहिक प्रेस सम्मेलनमा सोधिएको एउटा प्रश्नको उत्तरमा पेलोसीले आफू राष्ट्रपति तथा अमेरिकाको सुस्वास्थ्यको लागि चिन्तित रहेको बताइन्। ट्रम्पले रिसाहा व्यवहार देखाएको भन्दै उनले भनिन्, “अमेरिकाको राष्ट्रपतिका निम्ति म प्रार्थना गर्दछु। म आशा गर्छु उनको परिवार वा प्रशासन वा कर्मचारी कसैले देशको हितमा हस्तक्षेप गर्नेछन्।”

“सम्भवत: उनी बिदा बस्न चाहन्छन्,” पेलोसीले भनिन्। पछि ह्वाइट हाउसमा बोल्दै ट्रम्पले पेलोसीको भनाइ दुष्ट प्रकृतिको भएको जनाए।”मैले लामो समयदेखि नियालिरहेको छु। उनी पहिलेको जस्ती छैनन्,” उनले भने। साथै ट्रम्पले बुधवारको बैठकमा आफू रिसाएको वा चिच्याएको आरोप अस्वीकार गर्दै त्यहाँ आफू नम्र र शान्त भावमा प्रस्तुत भएको बताए।

सो बैठक सुरु भएको केही मिनेटमै टुङ्गिएको थियो। पेलोसीले बैठकबाट अचानक बाहिरिनुअघि ट्रम्पले टेबल ठटाएको बताएकी थिइन्।

 

ताजा समाचार