काठमाडौं, ३१ वैशाख । श्रीलंकामा पछिल्लो समय मुसलमानमाथि हिंसा बढेको छ ।
मुसलमानमाथिको हिंसा बढेपछि सरकारले देशभर रातिको समयमा कर्फ्यू लगाएको छ । मस्जिद तथा मुसलमानका व्यापारिक प्रतिष्ठानलाई लक्षित गरि आक्रमण भइरहेका छन् । यस्ता हिंसामा अहिलेसम्म कसैको ज्यान गएको खबर छैन तर आक्रमण रोकिएको छैन । कयौँ क्षेत्रमा प्रहरीले भिड तिरवितर पार्न हवाई फायर गर्नु परेको छ । यस्तै प्रहरीले अश्रु ग्यासको पनि प्रयोग गरेको छ ।
गएको मार्च २१ अर्थात इस्टरको दिन राजधानी कोलम्बो र आसपासका क्षेत्रमा रहेका चर्च तथा सुविधा सम्पन्न होटललाई लक्षित गरि भएको आक्रमणमा कम्तिमा २५० जनाको ज्यान गएको थियो । यो घटनापछि श्रीलंकामा तनावको अवस्था छ । त्यसयता मुसलमान समुदाय निशानामा परेका हुन् । प्रधानमन्त्री रानिल विक्रमासिंघेले नागरिकसँग शान्ती कायम राख्न अपिल गरेका छन् र पछिल्ला घटनाहरुको पनि अनुसन्धान हुने प्रतिबद्धता जनाएका छन् । अवस्था नियन्त्रणमा लिनका लागि सरकारले रातिको समयमा देशभर कर्फ्यू लगाउने निर्णय गरेको उनले बताएका हुन् । इस्टरको आक्रमणमा मुस्लिम अतिवादीको संलग्नता रहेको खुलेपछि सर्वसाधारण मुसलमान समुदाय निशानामा परेका हुन् ।