कांग्रेस जनजागरण भोलिबाट, आसन र भाषण छोटो, ब्याच प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०७९, आइतबार

कांग्रेस जनजागरण भोलिबाट, आसन र भाषण छोटो, ब्याच प्रतिबन्ध

nepali congress

काठमाडौं, २४ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विभिन्न १५ उद्देश्यसहित भोलि (बुधबार)बाट देशैभर एकैसाथ जनजागरण अभियान सुरु गर्दै छ ।  कांग्रेसको इतिहासमा नै नयाँ शैलीको कार्यक्रमको रूपमा लिइएको जनजागरण अभियानलाई कांग्रेसले आसन र भाषणमुक्त गर्ने कार्यक्रमका रूपमा समेत लिएको छ । देशैभर हुने कार्यक्रममा जम्मा तीन जना मात्रै वक्ता हुनेछन् ।

‘हिमाल, पहाड, तराई मधेस, नेपाली कांग्रेस’ नारासहित ७७ वटै जिल्लामा एकसाथ एउटै समयमा अभियानको उद्घाटन हुने कांग्रेसले जनाएको हो । बुधबार उद्घाटनका दिन भने प्रदेशका जिल्लामा प्रमुख नेताहरूले सम्बोधन गर्नेछन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनजागरण अभियानमार्फत कांग्रेसले पार्टीका कार्यक्रमलाई नयाँ शैलीबाट अघि बढाउने बताए । उनले कार्यक्रमलाई सफल बनाउन आसन र भाषणलाई छोटो र छरितो बनाउने परम्पराको समेत अभियानमार्फत सुरुवात हुने बताए ।

यस्तै, कांग्रेसले जनजागरण अभियानमार्फत आफ्नो पार्टीको कार्यक्रममा ‘ब्याच’ र ‘माला’लाई समेत प्रतिबन्ध लगाएको छ । पार्टीका कार्यक्रममा अनावश्यक रूपमा समय खर्च हुने भन्दै कांग्रेसले कार्यक्रमबाट ‘ब्याच’ र ‘माला’मा समेत प्रतिबन्ध गरेको हो ।

कांग्रेसले जनजागरण अभियानका क्रममा हुने कार्यकममा दीर्घजीवी विरुवा रोपेर र दीप प्रज्ज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नेछ । यस्तै, कार्यक्रमका सभापति र प्रमुख अतिथिबाहेक अन्यलाई एकैपटक आसन ग्रहण गराउँनेछ । कांग्रेसले जागरण अभियानमा विभिन्न १२ भाषामा जागरण गीतसमेत प्रस्तुत गरेर समावेशी दलका रूपमा आफूलाई चिनाउँदै छ । मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा भाका र नेपाली भाषा गरी फरक १२ भाषामा जागरण गीत बजाइने कांग्रेसले जनाएको छ ।

कांग्रेस प्रवक्ता शर्माका अनुसार पहिलो चरणको जागरण अभियान २५ वैशाखबाट २५ जेठसम्म गरी एक महिने कार्यक्रम ७७ वटै जिल्लामा सञ्चालन गरिनेछ । पहिलो चरणको कार्यक्रमका लागि ७७ वटै जिल्लामा केन्द्रीय तहका नेता सहभागी हुनेछन् तर पार्टीका सांसदहरू भने कार्यक्रममा सहभागी नहुने कांग्रेसले जनाएको छ । काठमाडौंमा हुने कार्यक्रमको नेतृत्व भने सभापति शेरबहादुर देउवाले गर्नेछन् ।

प्रवक्ता शर्माका अनुसार अभियानमार्फत महासमितिबाट पारित विधानसहितका दस्तावेजबारे कार्यकर्तालाई सुसूचित गर्ने, नेता कार्यकर्ताबीच एकता बढोत्तरी गर्ने, जागरण अभिवृद्धि गर्ने, कांग्रेसको अगुवाइमा उपलब्ध राजनीतिक उपलब्धि जनताबीच सम्प्रेषण गर्ने, संविधान संशोधनबारे जनमत सिर्जना गर्नेलगायतका उद्देश्य कांग्रेसले लिएको छ ।

यस्तै, दोस्रो चरणअन्तर्गत २४ भदौबाट १० असोजसम्म अभियान चलाइने प्रवक्ता शर्माले जानकारी दिए । दोस्रो चरणअन्तर्गत मुलुकका सबै प्रदेशस्तरीय निर्वाचन क्षेत्रहरूमा कार्यक्रम गरिनेछ । सो कार्यक्रममा समेत केन्द्रीय तहका नेताहरू सहभागी हुनेछन् । यसैगरी, तेस्रो चरणको अभियान ७ पुसबाट १६ गतेसम्म गरी १० दिन आयोजना हुनेछ । यस चरणमा सबै स्थानीय तहमा जनजागरण अभियान हुने कांग्रेसले बताएको हो । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

कांग्रेसले अभियानकै क्रममा सरकारका गलत क्रियाकलापविरुद्धमा आफ्ना नेता कार्यकर्तासहितका मतदाताहरूलाई सचेत बनाउने, कार्यकर्ताका मनोबल उच्च बनाउनेदेखि पार्टी सदस्यतासमेत वितरण गर्नेसम्मको लक्ष्य कांग्रेसले लिएको हो । गत निर्वाचनमा पार्टीले बेहोरेको हारपछि कार्यकर्तामा देखिएको निराशालाई उच्च पार्नसमेत जागरण अभियान फलदायी हुने लक्ष्य कांग्रेसले लिएको छ ।

कांग्रेसले अभियानका लागि आफ्ना भ्रातृ तथा शुभेच्छुक संस्थालाई पनि खटाउने जनाएको छ । जसअन्तर्गत महिला संघले महिला जागरण अभियान, तरुण दललाई सरकारको गलत कामको साथै भ्रष्टाचारविरुद्ध अभियान चलाउन जिम्मेवारी दिइएको छ ।त्यस्तै, नेविसंघलाई ‘प्लस टु’ प्लसको जिम्मेवारी दिइएको छ । जसअन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीलाई कांग्रेसबारे बुझाएर पार्टीसँग जोड्ने लक्ष्य कांग्रेसले लिएको हो । यसैगरी, नेपाल दलित संघले सबैखाले विभेद अन्त्यका लागि अभियान चलाउने छ ।

कांग्रेसले अभियानमार्फत सर्वाेच्च अदालतले विदेशस्थित नेपालीलाई पनि मतदानमा भाग लिन पाउने गरी दिएको आदेशलाई समेत कार्यान्वयन गर्न दबाब दिनेसमेत बताएको छ । यो काममा भने जनसम्पर्क समितिलाई जिम्मेवारी दिइएको छ । कांग्रेसले यस अभियानमार्फत २००७ सालदेखि २०१७, २०१७ देखि २०३६ र २०३६ देखि २०४६ सम्मका विभिन्न चरणका आन्दोलनमा सहभागी भएका आफ्ना नेताहरूको समेत खोजी गर्ने लक्ष्य लिएको छ ।