सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु, झुठो प्रचार गरिएको देउवाको आरोप | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु, झुठो प्रचार गरिएको देउवाको आरोप

niti-tatha karyakram-deuba

काठमाडौं, २२ बैशाख । संघीय संसद्को प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल प्रारम्भ भएको छ । आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रवार राष्ट्रपतिबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७६-७७ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्न प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले छलफलको प्रस्ताव पेश गरेसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । देउवासंगै नेमकिपाका सांसद प्रेम सुवाल र राजपाका नेता राजेन्द्र महतोले पनि संशोधन पेश गर्नुभएको थियो ।

नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिदै देउवाले प्रधानमन्त्री ओलीले कांग्रेस सरकारले गरेका कामलाई आफनो नेतृत्वको सरकारले गरेको भनेर झुटो प्रचार गरेको आरोप लगाउनुभयो । देउवाले कांग्रेस नेतृत्वको सरकारको पालामा युवा वैज्ञानिकलाई प्रोत्साहित गर्न नानो स्याटेलाईट परियोजना सुरु गरेको तर प्रधानमन्त्री ओलीले आफूले गरेको भनेर प्रचार गरेको भन्दै आपत्ती जनाउनुभयो ।

देउवाले ‘मेरो सरकार’ भनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई नीति तथा कार्यक्रम सम्बोधन गर्न लगाएर सरकारले राष्ट्रपति जस्तो सम्मानित संस्थालाई थप विवादमा पारेको आरोप लगाउनुभयो ।

त्यसैगरी कांग्रेस सभापति देउवाले सामाजिक सुरक्षा ऐनलाई बर्तमान सरकारले आफै ल्याएको भनेर प्रचार गरेको तर कार्यान्वयनमा गम्भीर नभएको आरोप लगाउनुभयो । त्यसैगरी राजपाका नेता राजेन्द्र महतोले सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनताका समस्या सम्बोधन गर्न नसकेको दाबी गर्नुभयो ।

महतोले बर्तमान सरकारलाई समर्थन गर्ने समयमा प्रधानमन्त्री ओलीले संबिधान संसोधन गर्ने प्रतिबद्धता जनाए पनि काम नगरेको उल्लेख गर्नुभयो । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि २३ जना सांसदले संसोधन प्रस्ताव पेश गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);