काठमाडौं, १९ बैशाख । सरकारले फुटवल, क्रिकेट र शारिरीक सुगठनका विजेता खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले बिहीबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा बीच अन्तराष्ट्रिय प्रतियोगितामा उपाधि जितेका फुटवल क्रिकेट र शारीरिक सुगठनका खेलाडीलाई पूर्व घोषित पुरस्कार प्रदान गरेको हो ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले नेपाली क्रिकेट टिमका विजेता खेलाडीहरुलाई जनही ५ लाख नगदसहित सम्मान गर्नुभएको थियो । त्यसैगरी मन्त्री बिश्वकर्माले सन् २०१६ मा भारतमा सम्पन्न भएको १२ औं साग खेलकुद प्रतियोगितामा फुटवलतर्फ स्वर्ण पदक हात पार्न सफल नेपाली फुटबल टिमका खेलाडीहरुलाई पनि जनही ३ लाखका दरले पुरस्कार प्रदान गर्नुभयो ।
त्यसैगरी विश्व शारिरीक सुगठनका च्याम्पियन महेश्वर महर्जनलाई ५ लाख नगद प्रदान गरिएको थियो । सम्मानपछि राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले सरकारले गरेको सम्मानबाट आफूहरुलाई झनै उत्साही बनाएको बताउनु भयो ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विश्वकर्माले खेलाडीले नेपालको मान र शान बढाउने काम गरेका उल्लेख गर्नुभयो । उहाँले नेपालको खेलकुद क्षेत्रको विकास, विस्तार र समृद्धिका लागि आवश्यक पूर्वाधार विकासको कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिवद्धता पनि दोहो¥याउनु भयो ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिना, सदस्य सचिव केशवकुमार विष्टलगायतको उपस्थिति रहेको थियो ।