सबै राजनीतिक दललाई मिलेर काम गर्न प्रधानमन्त्रीको आह्वान | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०७९, बिहीबार

सबै राजनीतिक दललाई मिलेर काम गर्न प्रधानमन्त्रीको आह्वान

kp oli

काठमाडौं, १८ बैशाख । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सबै राजनीतिक दलहरुलाई मिलेर काम गर्न आह्वान गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मजदुरहरुको एकताबाट पाठ सिकेर सबै राजनीतिक दलहरुले मिलेर काम गर्नुपर्ने स्पष्ट पार्नुभयो । १ सय ३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले एक वर्षमा इतिहासमा कहिल्यै नगरेको काम गरेको दावी पनि गर्नु भयो ।

प्रधानमन्त्री ओलीले सरकारले राम्रा काम गर्दै गईरहेका बेला राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएकोमा आफूलाई अचम्म लागेको प्रतिक्रिया पनि दिनु भयो । मंचमा सँगैरहनु भएका राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोलाई सरकारले राम्रो काम गरिरहेको उल्लेख गर्दै समर्थन फिर्ता लिने निर्णयमा पुनर्विचार गर्न पनि आग्रह गर्नु भयो ।

राम्रो काम गरिरहेका बेला खुसी हुनुपर्नेमा राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएकोमा आफूलाई अचम्म लागेको प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले सरकारको आलोचना गर्दा जनताले के भन्छन ? भनि विचार गर्न पनि आलोचकहरुलाई आग्रह गर्नु भयो ।

प्रधानमन्त्री ओलीले नेपालको मजदुर आन्दोलनलाई सफलताको उचाईमा पु-याइएको दावी पनि गर्नु भयो । उहाँले वर्तमान संविधानले मजदुर वर्गीय चिन्तनलाई आधार मानेको पनि स्मरण गराउनु भयो । प्रधानमन्त्री ओलीले बेराजगारलाई सय दिन तलवभत्ता दिने सरकारको निर्णय मजदुर वर्गका लागि अकल्पनीय उपलब्ध भएको पनि स्मरण गराउनु भयो ।

प्रधानमन्त्री ओलीले मजदुरहरुको पक्षमा सरकारले गरेको निर्णय वर्णन गरिरहन नपर्ने पनि बताउनु भयो । उहाँले सरकार, व्यवसायी र मजदुरहरु एकतावद्ध भएर अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।