काठमाडौं, १८ बैशाख । विश्व फुटबलका प्रेमीहरुलाई चकित पार्दै डच क्लब अजाक्सले च्याम्पियन्स लिग फुटबलमा रोमाञ्चक यात्रा कायम राखेको छ ।
क्वाटरफाइनलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोसहितको इटालियन क्लब युभेन्टसलाई स्तब्ध पारेको अजाक्सले मंगलबार राति भएको सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब टोटनह्यामलाई निरास बनायो । घरेलु मैदानमा भएको पहिलो लेगमा टोटनह्याम राम्रो प्रदर्शनका बाबजुद अजाक्ससँग १–० ले पराजित भएको हो । अजाक्सको जितमा १५ औँ मिनेटमा डोनी भान डी बेकले गरेको गोल नै निर्णायक बन्यो । अधिकांश युवा खेलाडी रहेको अजाक्सले उत्कृष्ट प्रदर्शन गरेको हो ।
पहिलो लेगमा अवे मैदानको जितले अजाक्सको फाइनल सम्भावना बलियो बनाएको छ । पहिलो हाफ सोचे जस्तो नभएको र अजाक्सको उर्जा बलियो देखिएकाले समस्या भएको टोटनह्यामका प्रशिक्षक पोकेटिनोले उल्लेख गरेका छन् । पराजित भए पनि आफूको सम्भावना नसकिएको उनको भनाई छ । दोस्रो लेग आउँदो हप्ताको बुधबार अजाक्सको मैदानमा हुनेछ ।