नेपालले राखेको सञ्जाल विस्तार प्रस्ताव चीनले स्वीकार गर्‍याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

नेपालले राखेको सञ्जाल विस्तार प्रस्ताव चीनले स्वीकार गर्‍याे

bidhya n xi

फूलमाया आले

काठमाडौं, १६ बैशाख । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले राखेको सञ्जाल विस्तार प्रस्ताव चीनले स्वीकार गरेको छ । चीनले नेपालको प्रस्ताव स्वीकार गर्नुलाई सकारात्मक भन्दै परराष्ट्रविद्हरुले नेपालको तर्फबाट सम्झौता समयमा कार्यान्वयन गर्न गृहकार्य सुरु गरे नेपालको हितमा हुने बताएका छन् । उनीहरुले भारतसँग रहँदै आएको परनिर्भरता अन्त्य गर्न पनि नेपालले दुई छिमेकीबीचको भू–राजनीतिक सन्तुलन राख्न सक्नु पर्ने बताएका छन् ।

बिभिन्न निर्णय गर्दै बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन शनिबार सम्पन्न भएको छ । बेइजिङ सम्मेलनमा नेपालले ओविओआर अन्तर्गत सञ्जाल विस्तारको प्रस्ताव राखेकोमा चीनले स्वीकार गरेको छ ।

नेपालकोतर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले राखेको प्रस्ताव चीनले स्वीकार गरेपछि नेपाल–चीन सीमापार रेलसहित बहुउद्देश्यीय हिमालय वारपार सञ्जाल विस्तारको ढोका खुलेको विश्लेषण सुरु भएको छ ।

बीआरआईमा नेपालमा रेल ल्याउने योजना समावेश भएको छ । यसलाई परराष्ट्रविद हिरण्यलाल श्रेष्ठले नेपाल ल्याण्डलक्ड देशबाट ल्याण्डलिङ्क देशमा प्रवेश गरेको विश्लेषण गरेका छन् ।

चीनको स्वार्थ नेपाल हुँदै रेलमार्ग भारतको उत्तरप्रदेश, बिहार, पश्चिम बंगाल हुँदै बङ्गलादेशसम्मको ठुलो जनसंख्यामा आफ्नो व्यापारिक प्रभाव विस्तार गर्नु हो । चिनियाँ तथा भारतीय र बंगलादेशी सामान आयात निर्यातका लागि नेपालले अन्तर्राष्ट्रिय नाकाको रुपमा आफूलाई विस्तार गर्न सके नेपालले पर्याप्त फाइदा लिनसक्ने विज्ञको बुझाई छ ।

दुई छिमेकीसँगको सम्झैताको ईतिहास हेर्ने हो भने भारतसँग भएका सन्धी सम्झौता भन्दा चीनसँग भएका सम्झौताहरु बढी कार्यान्वयन गरेको तथ्याङ्क देखिन्छ ।

विश्वकै ठुलो अर्थतन्त्र भएको चिनसँगको संझौता आफैमा सकारात्मक छ । नेपाल–चीन मित्रतापूर्ण सम्बन्ध तथा माओत्सेतुङ र कार्लमार्क्सको आदर्श मान्ने पृष्ठभूमीका दलहरुको सरकार भएकाले पनि चीनले नेपाललाई सहयोग गर्ने आधारहरु भएको राजनीतिक विश्लेषकको भनाई छ ।

उनीहरु कनेक्टिभिटि, प्रविधि आदानप्रदान, सामाजिक सांस्कृतिक आदानप्रदान, पर्यटन, हाइड्रोपावर सहितका क्षेत्रमा चिनियाँ सहयोगका लागि पहल थाल्नुपर्ने सुझाव दिन्छन् ।

राष्ट्रपतिको चीन भ्रमणमा गरिएको सम्झौता नेपालको आवश्यकतासँग जोडिएको उनीहरुको बुझाई छ । त्यसका साथै चीनसँग सम्झौता गरिएका विषयहरु कार्यान्वयन गर्न नेपाल आफैले सक्रीय भूमिका निर्वाह गर्न जरुरी रहेको परराष्ट्रबिद् टंक कार्की बताउँछन् ।

चीनको बिआरआई परियोजना विश्वको २३ औँ ठुलो परियोजना हो । यति ठुलो परियोजनामा नेपालले भाग लिनपाउनु नेपालका लागि सिक्ने अवसर पनि होे । बीआरआई परियोजनाभित्र लामो दुरीको रेलसहित हिमालय वारपार सञ्जाल विस्तारसमेत पर्नुलाई नेपालको हितमा हुने विश्लेषण गरिएको छ । सम्झौताले चीनको नेपालसँगको भौतिक साझेदारी थप उचाइमा पुग्ने अपेक्षा गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);