रुघाखोकीको उपचार नपाएर हुम्लामा ९ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

भदौ १ २०८३, मंगलबार

रुघाखोकीको उपचार नपाएर हुम्लामा ९ जनाको मृत्यु

medicine

हुम्ला, १५ बैशाख । हुम्लाको दक्षिणी भेगमा रहेको ताँजाकोट गाउँपालिकामा रुघाखोकीका कारण ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । २६ चैतयता फैलिएको महामारीले दुई सय बासिन्दा बिरामी छन् । तर, १९ दिनसम्म पनि उनीहरूले औषधि पाएका छैनन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ताँजाकोटमा मृत्यु हुनेको संख्या अपडेट गराएको छ । तर, केन्द्र अथवा प्रदेश सरकारको कुनै पनि टोली अहिलेसम्म प्रभावित गाउँमा पुगेको छैन । परीक्षण नभएकाले रोग के हो भन्नेसमेत पहिचान हुन सकेको छैन । फोनबाट लिएको जानकारीका आधारमा महाशाखा भन्छ, ‘सो गाउँमा स्वाइन फ्लु फैलिएको अनुमान गर्न सकिन्छ ।’

सदरमुकाम सिमकोटबाट ४५ कोस टाढा ताँजाकोट गाउँ पुग्न सडक छैन, पैदल जान तीन दिन लाग्छ, त्यसैले सरकारले डाक्टर र औषधि पठाएको छैन । जनताका लागि औषधि र स्वास्थ्यकर्मी पुर्‍याउन सरकारले हेलिकोप्टरसमेत व्यवस्था गर्न सकेको छैन ।

महामारीबाट मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धा र बालबालिका छन् । ताँजाकोट गाउँपालिका वडा नम्बर १, २ र ३ मा दुई सय ५० भन्दा बढीमा रुघाखोकी र ज्वरो देखिएको स्थानीय जगत शाहीले बताए । गाउँपालिका प्रमुख बागदल मल्लले एक दर्जन बस्तीमा रोग फैलिएको जानकारी दिए । उनले संक्रमण देखिएको दुईदेखि चार दिनभित्रै बिरामीको मृत्यु हुने गरेको बताए । मैला स्वास्थ्य चौकीका अहेव मोतीलाल जैसीका अनुसार दुई दिनअघि १० महिने बालकको समेत मृत्यु भएको छ । पूरै गाउँ इन्फ्लुएन्जाबाट प्रभावित भएको उनले बताए ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।