कांग्रेस राजतन्त्र फर्काउने सपना बाेकेर हिंडेको देख्दा विचित्र लाग्छ : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

कांग्रेस राजतन्त्र फर्काउने सपना बाेकेर हिंडेको देख्दा विचित्र लाग्छ : प्रधानमन्त्री

नेपाली कांग्रेस अलोकतान्त्रिक बाटोमा हिंडेको प्रधानमन्त्री ओलीको आरोप

काठमाडौं, ९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अलोकतान्त्रिक बाटोमा हिडेको आरोप लगाएका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७० औं बार्षिकोत्सवको अवसरमा सोमबार राजधानीको प्रज्ञा भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुलाई लोकतान्त्रिक पार्टी भन्ने कांग्रेस अलोकतान्त्रिक बाटोमा हिंडेको आरोप लगाए ।

विगतमा नेपाल कम्युनिष्ट पार्टी भित्र स्वार्थका खेल भएका कारण विभाजनमा पुगेको भन्दै उनले अहिले नेपाली कांग्रेस त्यही बाटोमा गएको टिप्पणी गरे । उनले प्रगतिशिल शक्तिका विरुद्ध प्रतिगामी शक्तिसंग साँठगाँठ गर्ने गलत प्रवृति नेपाली कांग्रेसमा देखिएको टिप्पणी गरे ।

नेपाली कांग्रेसले लोकतान्त्रिक शक्तिसंग एकता गर्नुपर्नेमा प्रतिगामी शक्तिसंग एकता गरेको उनको तर्क थियो । उनले भने “आज अचम्म लाग्छ । कांग्रेस कहाँ पुग्यो । कांग्रेसका धेरै नेताहरु राजतन्त्र फर्काउने सपना देखेर हिंडेको देख्दा विचित्र लाग्छ । कुनै पनि लोकतन्त्र वादीले जन्मसिद्ध श्रेष्ठताका लागि मेरो शासक भईदेउ भनेर दरखास्त हाल्दैन ।”

उनले भ्रष्टाचार नियन्त्रणमा कुनै पनि मोलाहिजा नहुने दोहोर्याए । बर्तमान सरकारले सुन तस्करीको सबै बाटाहरु बन्द गराएको उनको दाबी छ । उनले भने “सुन तस्करीको प्वाल बन्द गरिदिएका छौ । खै सुन ? त्यसबेलाकाले थाहा पाउनु पर्यो नि कहाँ पुर्यायो भनेर ? अहिलेकालाई खै सुन ? आत्तिएका छन् कारोबारीहरु । कारोबारीको पृष्ठभूमिका बसेकाहरु आत्तिएका छन् । अब सुनको तस्करी चल्दैन । जिल्ला जिल्लामा जमिन मुनि गाडेको पनि खोतलेर निकालिएको छ । त्यो देख्नुपर्यो नि ।”

लोकतन्त्र विरोधी शक्तिहरु, विध्वंस मच्चाउने र राष्ट्रिय एकतालाई कमजोर पार्ने तत्वलाई समाप्त पारिएको तथा पृथकतावादी माग बोकेको समुहलाई पनि मुलधारको राजनीतिमा ल्याईएको भन्दै उनले पृथकतावादी विचार नै समाप्त हुनु राज्यको लागि खुसीको कुरा भएको बताए ।

उनले मुलुकबाट पृथकतावादी विचार समाप्त भएसंगै प्रतिगामी तत्वहरुमा छटपटी भएको बताए । उनले भने “तास खेल्दा खेल्दै पत्ती नै हरायो अब केमा खेल्ने ?”

अपेक्षा गरे भन्दा बढी उत्साहजनक ढंगले देशमा लगानी भित्रिएको उनको दाबी छ । उनले यसबर्ष मात्रै ४ सय वटा झोलुङ्गे पुल बनेको, ४० वटा तुईन विस्थापित भएको तथा ८ सय किलोमिटर सडक कालोपत्रे भएको भन्दै सरकारले बिग्रेको मुलुकको अर्थतन्त्रलाई ठिक बाटोमा ल्याएको बताए ।

उनले सामान्य विषयलाई अनावश्यक उचालेर पार्टी फुट्छ भनी भ्रम फैलाउने काम भएकोमा आपत्ती जनाए । भवितव्यले एकता नभएको भन्दै उनले बर्ष संगै अभियान र अभिभाराको पाटो पनि पल्टिने र नयाँ अठोठका साथ पार्टी अघि बढ्ने स्पष्ट पारे ।

आगामी बर्ष वृद्ध भत्ता बढ्ने


उनले सरकारले आगामी बर्ष वृद्ध भत्ता बढाउने खुलासा गरे । सरकारको मुख्य उद्देश्य शान्ति सुव्यवस्था कायम गर्दै लोकतन्त्रको सही अभ्यासका साथ विकास निर्माणका काम अघि बढाउने रहेको भन्दै उनले प्रदेश सरकारलाई पनि संघीय सरकारले जस्तै काम गर्ने प्रेरणा दिंदै सोही अनुसार काम अघि बढाईने स्पष्ट पारे ।

उनले नेपालको कम्युनिष्ट आन्दोलनले आफ्ना संगठित अभियानका गौरवपुर्ण र सफलताका ७० बर्ष पुरा गरेको उल्लेख गरे । एकताको टुंगो लगाएसंगै लामो समय देखिको नेपालीको आकांक्षा पुरा भएको भन्दै उनले यसबाट जनताको जीत भएको बताए ।

उनले विगतमा कम्युनिष्ट नेताका विचारलाई लखेट्ने र विचारको नभई स्वार्थको राजनीति हुने गरेको र त्यसले मुलुकको कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने काम भएको चर्चा गर्दै अब भने त्यसो नहुने दाबी गरे । एकता संगै पार्टी सामाजिक न्याय सहितको सम्मृद्धि र लोकतन्त्र स्थापनाको गहन सुझबुज र प्रतिवद्धताका साथ अघि बढेको स्पष्ट पारे ।

एकीकरणको प्रक्रिया अघि बढेको भन्दै बाँकी विषयलाई केही दिनमा नै टुंगो लगाईने उनको भनाइ छ । पार्टी नेतृत्व एकढिक्का भएर सबै कामको नेतृत्व गर्न सक्षम छ भन्ने व्यवहारले देखाएको बताए । उनले एकतामा पुर्याएको सहयोगका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाललाई अनि एकताको दबाब दिने, आकांक्षा राख्ने सबैलाई धन्यवाद दिए ।

तस्बिर: कृष्ण पौड्यालको फेसबुकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);