निजी विद्यालयका लागि तोकिएको शुल्क तत्काल खारेज गर्न माग | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८३, बुधवार

निजी विद्यालयका लागि तोकिएको शुल्क तत्काल खारेज गर्न माग

काठमाडौं, ४ बैशाख । नेपाल अभिभावक महासंघले निजी विद्यालयका लागि तोकेको शुल्क तत्काल खारेज गर्न काठमाडौं महानगरपालिकासँग माग गरेको छ । नेपाल अभिभावक महासंघका संयोजक सुप्रभात भण्डारीले ३० प्रतिशत वृद्धि हुनेगरी तोकिएको सो शुल्क तत्काल खारेज गर्न काठमाडौं महानगरपालिकासँग माग गरे ।

उनले सरोकारवाला निकायसँग छलफल नै नगरी शुल्क वृद्धि गरेर आम अभिभावकहरुलाई मारमा पार्ने काम स्थानीय सरकार आफैले गर्न थालेको भन्दै आक्रोश पनि व्यक्त गरे । बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले अभिभावकहरुले निजी विद्यालयमा निःशुल्क पढाउन नचाहेको भन्दै शुल्क अत्याधिक वृद्धि गर्ने काम नरोके काठमाडौं महानगरपालिकाविरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।

कार्यक्रममा बोल्दै उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ (हिसान)का अध्यक्ष रमेश सिलवालले स्थानीय सरकारले शैक्षिक वातावरण नै धमिल्याउने गरी निजी विद्यालयहरुको शैक्षिक शुल्क तोक्ने गरेको भन्दै आपत्ति जनाए।

उनले शुल्क निर्धारण गर्दा सरोकारवाला निकायसँग व्यापक छलफल गर्न पनि सबै स्थानीय तहको गम्भिर ध्यानाकर्षण गराए । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रका विद्यालयहरुको शुल्क ३० प्रतिशतले वृद्धि गरेकोमा सर्वत्र आलोचना हुँदै आएको छ ।

ताजा समाचार