कुखुराको अण्डामा आत्मानिर्भर बन्दै पाल्पाको रामपुर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कुखुराको अण्डामा आत्मानिर्भर बन्दै पाल्पाको रामपुर

khukhurapalan palpa

प्रकाश नेपाल

पाल्पा, ४ बैशाख । पाल्पाका तीन युवाहरु गरिरहेको पेशा तथा वैदेशिक रोजगारीलाई त्यागेर कुखुरापालन तिर आकर्षित भएका छन् । युवाहरु पाल्पाको रामपुरलाई कुखुराको अण्डामा आत्मानिर्भर बनाउने लक्ष्यसहित कुखुरापालनमा व्यस्त छन् ।

पाल्पा रामपुरका तीन युवाहरु अहिले आफ्नो पौरख आफ्नै देशमा लगाउने भन्दै कुखुरापालनमा लागेका छन् । रामपुर–८ आँपचौरका २९ वर्षीय भुवन अर्याल, ३२ वर्षीय आशिष अर्याल र ३० वर्षीय गणेश अर्यालले रामपुर एग्रो फर्म सञ्चालन गरिरहेका छन् । उनीहरुले रामपुर खैरेनीवन नजिकै वार्षिक ५० हजार रुपैयाँ भाडा तिरेर २४ रोपनी जग्गामा कुखुरापालन गर्दै छन् । वैदेशिक रोजगारीमा जानु भन्दा स्वदेश मै बसेर मिहिनेत गर्ने उद्देश्यका साथ कुखुरापालन गरेको सञ्चालकहरु मध्येका एक भुवन आचार्यको भनाई छ ।

एकवर्ष अगाडि उनीहरुले ८० लाखको लगानीमा कुखुरापालन शुरु गरेका थिए । कुखुरापालनबाट अहिले उनीहरुले वार्षिक १० देखि १२ लाखसम्मको नाफा लिँदै आएका छन् । रामपुरलाई कुखुराको अण्डामा आत्मनिर्भर बनाउने उद्देश्यका साथ उनीहरु लागीपरेका छन् । स्थानीय बजारमा अण्डाको माग दैनिक ३०-३५ पेटी अण्डा रहेको छ भने त्यस क्षेत्रमा दैनिक उत्पादन हाल २२ पेटी मात्र देखिएको छ ।

बजारलाई नपुग अण्डा बुटवल र तानसेन बजारदेखि आउने हुनाले पनि त्यसलाई हटाउन यो फार्मवाट मद्दत पुग्ने संचालकको दाबी छ । रामपुर एग्रो फार्मका सञ्चालकहरु मध्ये एक आशिष अर्याल बैदेशिक रोजगारीबाट फर्केका युवा हुन् । अहिले दैनिक झण्डै एक हजार आठ सय अण्डा उत्पादन गर्दै आइरहेको भएपनि अझै बजारको माग धान्न नसकेको आशिष बताउँछन् ।

रामपुर लगायत पूर्वी पाल्पालाई अण्डामा आत्मनिर्भर गराउने लक्ष्यका साथ ५ हजार बढी लेयर्स कुखुरा पाल्दै आएका छन् । फार्मलाई विस्तार गर्नका लागि उनीहरुले माछा पालन गर्ने योजना समेत बनाएका छन् ।

अहिले फार्मले तीन महिलाहरुलाई रोजगारी समेत प्रदान गरेको छ भने व्यवसाय विस्तारसँगै अरुलाई पनि रोजगारीको अवसर दिने योजना राखेको छ । यसरी युवाहरु स्वेदेश मै पौरख गर्ने हो भने देशबाट बाहिर जाने जनशक्ति स्वदेश मै आर्थिक समृद्धिको लागि महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्दछन् । युवाहरुलाई प्रोत्साहनका लागि सरकारी स्तरबाट पनि कार्यक्रमहरु आउन जरुरी देखिन्छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);