काठमाडौं, ४ बैशाख । अमेरिकाको एक स्थानीय पत्रिकाले यो वर्षको पुलिट्जर पुरस्कार जितेको छ ।
आफ्नो समाचार कक्षमा भएको अन्धाधुन्ध बन्दुक आक्रमणका बारेमा समाचार प्रकाशित गरेको पत्रिका द क्यापिटल ग्याजेटले पुलिट्जर पुरस्कार पाएको हो । सन् २०१८ को जुनमा एक बन्दुकधारी द क्यापिटल ग्याजेट पत्रिकाको कार्यालयमा छिरेर अन्धाधुन्ध गोली चलाएका थिए । यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका बारेमा अनुसन्धानात्मक खबर प्रकाशित गरेकोमा द न्युयोर्क टाइम्स र द वाल स्ट्रिट जर्नलले पनि पुलिट्जर पुरस्कार पाएका छन् ।
मेरील्याण्डको एनापोलिसबाट प्रकाशित हुने द क्यापिटल ग्याजेटलाई अमेरिकी पत्रिकारिताको इतिहासमा भयानक आक्रमणका बारेमा खबर प्रकाशित गरेको र उर्जा कायम राखेको भन्दै विशेष पुलिट्जर पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । द पुलिट्जर बोर्डले पुरस्कारसँगै पत्रिकाको समाचार कक्ष पत्रकारितालाई थप व्यवस्थित बनाउनका लागि एक लाख अमेरिकी डलर सहायता दिने निर्णय पनि गरेको छ ।