इन्धन खपत २१ प्रतिशत बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

इन्धन खपत २१ प्रतिशत बढ्यो

petrol line

काठमाडौं, ४ बैशाख । मुलुकमा सवारीसाधनको बढ्दो प्रयोगसँगै पेट्रोलियम पदार्थको आयात पनि बढ्दै गएको छ । विकास निर्माणका काममा तीव्र गतिमा विस्तार भएकाले पनि इन्धनको खपत बढ्दै गएको हो । उपत्यकामा मात्र ११ लाखको संख्यामा सवारीसाधन रहेका छन् । आम मानिसको क्रयशक्ति बढेसँगै विलासी जीवनशैली अँगाल्ने गरेकाले पनि सवारीसाधन प्रयोग बढ्ने गरेको र यसले इन्धनको खपत पनि सोही अनुपातमा बढ्दै गएको छ ।

नेपाल आयल निगमका अनुसार गत वर्षको तुलनामा यो वर्ष इन्धन खपत २१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा २६ लाख ६९ हजार किलोलिटर पेट्रोलियम बिक्री भएको थियो  । यो आर्थिक वर्ष २०७३-७४ को तुलनामा २१.५४ प्रतिशतले बढी हो । निगमले २०७३-७४ मा २१ लाख ९६ हजार किलोलिटर इन्धन बिक्री गरेको थियो । निगमका अनुसार आर्थिक वर्ष २०७१-७२ मा १६ लाख २५ हजार १ सय ६७ किलोलिटर इन्धन आयात भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७२-७३ मा नाकाबन्दीका कारण १३ लाख ३१ हजार १ सय ५६ किलोलिटर इन्धन आयात भएको थियो । आर्थिक वर्ष २०७३-७४ मा २२ लाख १८ हजार ७ सय ४२ किलोलिटर इन्धन आयात भएको थियो । निगमले २०७२-७३ मा ९७ अर्ब ३ करोड रुपैयाँ बराबरको १३ लाख ३० हजार किलोलिटर इन्धन बिक्री भएको जनाएको छ । २०७१-७२ मा भने १ खर्ब ३८ अर्ब ९९ करोड रुपैयाँको १६ लाख २ हजार किलोलिटर इन्धन बिक्री भएको थियो  ।

निगम प्रवक्ता वीरेन्द्र गोइतले बर्सेनि इन्धनको खपत बढ्दै गएको बताए । आम उपभोक्तामा आएको विलासिताका कारणले इन्धनको खपत बढेको उनको भनाइ छ । यो वर्ष अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य उतारचढावका कारण इन्धनको मूल्यसमेत बढेको छ । निगमका अनुसार २०७४-७५ मा १ खर्ब ९५ अर्ब ९४ करोड रुपैयाँको बिक्री भएको थियो । २०७३-७४ मा १ खर्ब ५२ अर्ब ६ करोड रुपैयाँको बिक्री भएको निगमको तथ्यांक छ  ।

२०७२-७३ मा भने नाकाबन्दीका कारण बिक्री घटेको थियो । दक्षिण सीमा नाकामा करिब ६ महिना अवरोध भएपछि इन्धनको आपूर्तिमा असहज भएको थियो । सीमा अवरोधकै कारण आयात र बिक्री न्यून भएको प्रतिवेदनमा उल्लेख छ । निगमका अनुसार हाल मासिक सरदर ८० देखि एक लाख किलोलिटर डिजेलको माग छ । त्यस्तै पेट्रोल मासिक २५ सयदेखि ३० हजार किलोलिटर, हवाई इन्धन १२ देखि १५ हजार किलोलिटर र ग्यास २५ देखि ३० हजार टन माग छ । पेट्रोलियम पदार्थको खपत सबैभन्दा धेरै उपत्यकामा हुने गर्छ । डिजेल दैनिक ५ देखि ६ सय किलोलिटर र पेट्रोल ४ देखि ५ सय किलोलिटर वितरण हुने गरेको निगमको भनाइ छ । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);