१२ लाख हेक्टरमा कफी उत्पादन सम्भव | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

१२ लाख हेक्टरमा कफी उत्पादन सम्भव

coffe beans

काठमाडौं, ४ बैशाख । नेपालमा ११ लाख ९८ हजार ५ सय ३५ हेक्टरमा कफी उत्पादनको सम्भावना रहेको एक अध्ययनले देखाएको छ । हालै सार्वजनिक गरिएको सर्वेक्षणले मुलुकभरमा कैलाली  जिल्लाको छुरे गाउँपालिकामा कफी उत्पादनको उच्च सम्भावना देखिएको छ ।

विभिन्न निकायको सहयोगमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गरेको सर्वेक्षणले ६१ हजार २ सय २८ हेक्टरमा उच्च सम्भावना रहेको देखाएको छ । त्यसैगरी सम्भाव्य क्षेत्रमा ४ लाख २ हजार ६४६ हेक्टर र मध्यमखाले  सम्भावना रहेको क्षेत्रमा ७ लाख ३४ हजार ६६१ रहेको प्रतिवदेनमा उल्लेख छ । प्रतिवेदनले उत्कृष्ट १० गाउँपालिकामध्ये एक नम्बर सम्भावना रहेको छुरे गाउँपालिकाको १ हजार ६ सय २६ हेक्टर क्षेत्रमा कफी उत्पादनको सम्भावना रहेको देखाएको हो । प्रतिवेदनले कफी खेतीको सुरुवात मानिएको गुल्मीका दुई गाउँपालिका धुर्कोटमा १ हजार ८२ हेक्टर र मदानेमा १ हजार ७७ हेक्टरसहित पाँचौ र छैटौं उत्कृष्ट गाउँपालिकाको रूपमा चित्रण गरिएको छ ।

प्रतिवेदनअनुसार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको १ हजार २ सय २८ हेक्टरसहित नेपालकै दोस्रो सम्भाव्य क्षेत्र रहेको छ भने तेस्रोमा ललितपुरको गोदावरी नगरपालिका र चौथोमा पनि १ हजार १२१ हेक्टरसहित सिन्धुपाल्चोककै मेलम्चीगढी नगरपालिका परेको छ ।  सातौ स्थानमा एक हजार हेक्टरभन्दा बढी उत्पादन रहेका बाग्लुङको बाग्लुङ गाउँपालिका र आठौंमा बैतडीको डोगाडकेडार गाउँपालिका छन् भने नवौंमा ९२५ हेक्टरसहित काठमाडौंको चन्द्रागिरि नगारपालिका र दशौंमा  दोलखाको मेलुङ गाउँपालिका परेको छ । क्षेत्रको अपस्थिति, समुद्र सतहदेखि उचाइ र कफीको लागि आवश्यक  वातावरणका आधारमा  अध्ययन गरिएको बोर्डले जनाएको छ । नेपालमा कफी उत्पादनको ठूलो हिस्सा साना किसानले उत्पादनको रहेको र अब साना ठूला सबै किसानले ठूलो मात्रामा कफी उत्पादन गर्न आवश्यक रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमको भनाइ छ ।

“एकातिर नेपालको कफी उत्कृष्ट छ भन्ने प्रमाणित भइसकेका छन् भने माग पनि बढ्दो दरमा छ, खाँचो छ भने नेपालमा कफी प्रवद्र्धनको,” उनी  भन्छन्, “हामीले कफी विकासका लागि आवश्यक नीति, नियम र योजनाहरू तयार पारिसकेका छौं, अब ठूलो लगानीमा व्यवसायकि उत्पादन गर्नु आवश्यक बनिसकेको छ ।” कफी क्षेत्रको वास्तविक अवस्था दर्शाउन नै कफी प्रवद्र्धन सम्मेलन आयोजना गरेको उनको भनाइ छ । नेपालका ४१ मध्य पहाडी जिल्लाहरूमा समुद्री सतहदेखि ८ सय देखि १६ मिटरको उचाइमा कफी खेती गरिँदै आइएको छ । जसमध्ये २१ जिल्लामा व्यावसायीक कफी उत्पादन भइरहको पाइएको छ । अरेबिका जातको बाहुल्यता रहेका नेपाली कफी प्रांगारिक रूपमा उत्पादन हुदै आएका छन् । बर्सेनि कफीसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आएको कफी रिभ्यु डट कमले सन् २०१७ मा गरेको अध्ययनमा नेपालको कफीले ९० अंक प्राप्त गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

नेपाल व्यापार एकीकृत रणनीति २०१६ अन्तर्गत निर्यातयोग्य उपजको सूचीमा रहेको कफीको प्रवद्र्धनका लागि सरकारले वर्षेनी कार्यक्रमहरू ल्याए पनि न्यून लगानी हुँदा स्वेदशी बजारमै अपुग छ भने विदेशको माग पनि धान्न सकिरहेको छैन । नेपालमा कफीको उत्पादन मागको करिब ८ प्रतिशत मात्र रहेको देखिन्छ ।  अन्तर्राष्ट्रिय बजारमा वार्षिक ७ देखि ८ सय मेट्रिक टन भएको तर उत्पादन भने गत वर्ष ५ सय १३ मेटन मात्र छ । भन्सार विभागको तथ्यांकअनुसार गत वर्ष ९ करोड ३७ लाख २५ हजार मूल्य बराबरको ८४ टन कफी निर्यात भएको थियो भने ६ करोड ५८ लाख मूल्य बराबरको १६३ टन कफी आयात भएको छ । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।

नेपालबाट डेढ दर्जन मुलुकमा निर्यात हुदै आएको छ । जापान, जर्मनी, कोरिया, स्वीट्जरल्याण्डलगायतका मुलुकमा नेपाली कफी निर्यात हुने गरेका छन् । ताइवान, क्यानडा, बेलायत, अस्ट्रेलिया, युएइ, मलेसिया, डेनमार्क, न्यूजिल्याण्ड, भारतलगायत विश्वका थप मुलुकहरूमा पनि थोरै मात्रामा भए पनि कफी निर्यात भइरहेको र माग पनि बढ्दो क्रममा रहेको बोर्डका  योजना अधिकृत गौरव लुइँटेलले बताए । कफी प्रवद्र्धनका लागि बोर्डले सोमबार र मंगलबार राजधानीमा दुई दिने कफी प्रवद्र्धन सम्मेलन सम्पन्न गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);