काठमाडौं, २८ चैत । सरकारी चिकित्सकहरुले सरकारले आफना माग पुरा नगरेको भन्दै बिहिवार पनि आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पारेका छन । नेपालको सबैभन्दा पुरानो वीर अस्पतालको स्वास्थ्य सेवा चिकित्सकको आन्दोलने प्रभाबित भएको छ ।
बिहीबार अस्पताल परिसरमा पुगेका विभिन्न रोगले च्यापेका वृद्धवृद्धाहरुले समेत आफ्नो रोगको नियमित चेकजाँच गराउन पाएनन । उपचार नपाएपछि बिरामीहरुले चिकित्सकप्रति आक्रोश पोखेका थिए ।
कर्मचारी समायोजनमा आफूहरुलाई केन्द्र सरकार मातहत राख्नुपर्ने माग राख्दै ओपीडी सेवा बहिष्कार गरेका चिकित्सकहरुले भने अस्थायी पालको व्यवस्था गरेर भएपनि अत्यावश्यकीय सेवा विरामीहरुलाई दिने काम भईरहेको दावी गरेका थिए ।
अस्पतालकी आवासीय चिकित्सक सोनी श्रेष्ठले आफूहरुलाई कर्मचारी समायोजनको नाममा सरकारले पीडा दिएकाले त्यसको विरोधमा अस्पतालका ओपीडी सेवा अवरुद्ध पारेर आन्दोलन गर्नु परेको पनि बताईन् ।
सरकारी चिकित्सकहरुको आन्दोलनका कारण देशका दुरदराजबाट उपचारका लागि वीर अस्पताल आएका विरामीहरुले एक साता यता झनै सास्ती व्यहोर्नु परिरहेको छ ।