निशा शाह
नेपालगञ्ज, २७ चैत । बाँके जिल्ला अदालतमा दिनप्रति दिन सम्बन्ध विच्छेदका मुद्दाहरु बढ्दै गएका छन् । भदौ १ गतेदेखि फागुन मसान्त सम्म बाँके जिल्ला अदालतमा सम्बन्ध विच्छेदका तीन सय ३८ वटा मुद्दाहरु दर्ता भएका छन् । जसमा महिलाकोतर्फबाट दुई सय ३० वटा छन् भने पुरुषकोतर्फ एक सय ८ वटा मुद्दा दर्ता भएको बाँके जिल्ला अदालतले जानकारी दिएको छ ।
नेपाल सरकारले २०७५ भदौ १ गतेदेखि पुरुषहरुले पनि सहजै सम्बन्ध विच्छेद गर्न पाउने कानून ल्याएपछि बाँके जिल्ला अदालतमा मुद्दाहरुको संख्या हवात्तै बढेको हो ।
जिल्ला अदालत बाँकेमा दिनप्रति दिन सम्बन्ध विच्छेदका मुद्दाहरु बढिरहेका छन् । मुलुकी संहिताले पुरुषलाई पनि महिला सरह सम्बन्ध बिच्छेदका लागि सिधैं अदालत जाने बाटो खुल्ला गरेपछि पारपाचुकेका घटनामा वृद्धि भएको हो ।
भदौ १ भन्दा अघि पुरुषको तर्फबाट सम्बन्ध विच्छेदका मुद्दाहरु सजिलै अदालतमा आउन सकेको थिएन । तर, भदौ १ गतेबाट आएको कानूनले महिला र पुरुष दुबैलाई सम्बन्ध बिच्छेदका लागि समान पहुँच दिएपछि संख्या दिनप्रति दिन बढ्दै गएको हो ।
पहिले र अहिले सम्बन्ध विच्छेदका कारण उस्तै रहेको तर अहिले प्रायः श्रीमान् वैदेशिक रोजगारीबाट फर्किएपछि आफ्नी श्रीमतीसँग नगदको हिसाब नमिल्दा पुरुषहरुले मुद्दा दायर गरेको पाइएको अधिवक्ता विरेन्द्रकुमार बस्नेतले बताए ।
पहिलेको अवस्थामा श्रीमानले मुद्दा दिनुपर्दा स्थानीय तहमा एक वर्षसम्म मुद्दा खेपेर मात्र अदालतमा जान मिल्ने प्रावधान थियो । तर भदौ एकपछि पुरुषहरु पनि महिला सरह नै सिधै अदालतमा जान मिल्ने भएको हो ।
अर्का अधिवक्ता लोक बहादुर शाहका अनुसार बढ्दै गएको विकृति, अविश्वास र घरेलु हिँसाका कारण पनि सम्बन्ध बिच्छेदका मुद्दाहरु बढ्न थालेका छन् ।