एकै दिन २९ ‘सम्बन्ध विच्छेद’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एकै दिन २९ ‘सम्बन्ध विच्छेद’

pati-patni

काठमाडौं, १७ असोज । समाजलाई नै अस्तव्यस्त बनाउनेगरी पछिल्लो समय सम्बन्ध विच्छेद गर्नेको संख्या दिनदिनै बढ्दै गएको छ । सामान्य घटनामा पनि सम्बन्ध विच्छेद फेसन र विकृतिकै रूपजस्तो बन्न पुगेको छ ।

सम्बन्ध विच्छेदबाट आफ्ना बालबच्चा तथा परिवार र समाजमा नकारात्मक असर पर्ने भए पनि धेरैले सामान्य विषयमा पनि सम्बन्ध विच्छेदलाई रोज्दा आगामी दिनमा त्यसले समाजलाई कहाँ पु¥याउँला सोचनीय विषय बन्दै गएको छ ।
कतिपय साँच्चै अन्याय सहन नसकेर सम्बन्ध विच्छेदसम्म पुगे पनि धेरैले आफ्नो व्यक्तिगत स्वतन्त्रताको नाममा सामान्य विषयमा पनि श्रीमान–श्रीमतीबीच समन्वय, सहकार्य समझदारी र आपसी विश्वास गर्न नसकेर विकृतिकै रूपमा सम्बन्ध विच्छेद अपनाइरहेका छन् ।

काठमाडौं जिल्ला अदालतमा गत ३१ साउनमा एकै दिन २९ वटा मुद्दा पेसी चढेका थिए । अघिल्ला वर्षमा कुनै महिनाभरी सो संख्यामा पेसी चढ्ने गरेका थिए । ३० साउनमा २१ वटा, २९ मा १९ वटा सम्बन्ध विच्छेदका पेसी चढेको पाइएको छ । साउन महिनामा साढे २ सय मुद्दाको पेसी चढेको छ ।

पेसीका अलावा आपसी मिलेमतोमै सम्बन्ध विच्छेद गर्न अदालत पुग्नेको संख्यासमेत झनै डरलाग्दो छ । दिनमा दर्जनको संख्यामा सम्बन्ध विच्छेदका घटना काठमाडौं अदालतमा मात्र हुने गरेको अदालतले जनाएको छ । भदौमा भने सो संख्या केही घटे पनि असोजमा पुनः त्यो संख्यामा वृद्धि भएको पाइएको छ ।
काठमाडौं जिल्ला अदालतका अनुसार भदौमा सयको हाराहारीमा पेसी चढेकोमा १४–१९ असोजको पेसीमै ६६ वटा सम्बन्ध विच्छेदका मुद्दा चढेका छन् ।

काठमाडौं जिल्लामा मात्र नभएर पछिल्लो समय देशैभर सम्बन्ध विच्छेदका घटना बढेको हो । कास्की जिल्ला अदालतमा यस साता २० वटा मुद्दाको पेसी सम्बन्ध विच्छेदका छन् । भक्तपुरमा १० वटा परेका छन् भने ललितपुरमा भने सातवटा छन् ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलाराम केसीले मुलुकी संहितासँगै पश्चिमा संस्कृतिको प्रभावले पनि सम्बन्ध विच्छेदका घटना बढेको बताउँछन् । ‘संहिताले महिला र पुरुषलाई समान अधिकार दिएको छ, अदालतमा सिँधै सम्बन्ध विच्छेद गर्न पाउने कानुन बनेपछि सानोतिनो कुरामा पनि अदालत पुगिहाल्ने चलन बढेजस्तो देखिएको छ,’ उनले भने ।

पूर्वन्यायाधीश केसी ह्विमको भरमा सम्बन्ध विच्छेद गर्दा त्यसको असर आफ्ना बच्चाबच्चीमा पर्ने भएकाले यसको रोकथाममा ध्यान दिनुपर्ने बताउँछन् । ‘ह्विमको भरमा सम्बन्ध विच्छेद गर्नुहुँदैन, अदालतले पनि गोप्य कोठामा श्रीमान–श्रीमतीका कुरा सुनेर दबाब नदिई विच्छेदभन्दा पनि मिल्छ भने मिलाउनतिर जोड दिनुपर्छ, यसको असर आफ्ना बालबच्चामा पर्न दिनुहुँदैन,’ उनले भने ।

कानुन व्यवसायी कपिलचन्द्र पोखरेल प्रविधि र सामाजिक सञ्जालको विस्तार र हाम्रो आर्थिक तथा सामाजिक अवस्था नमिल्दा सम्बन्ध विच्छेदका घटना बढेको बताउँछन् । ‘हातहातमा मोबाइल छ, सबै सामाजिक सञ्जालमा जोडिएका छन्, त्यसले अलिक नकरात्मकतिर सोच्ने बनायो,’ उनले राजधानीसँग भने । सरकारले पोर्न साइटहरू बन्द गर्नाले पनि नकरात्मक सोचाइमा केही कमी हुन सक्ने उनको तर्क छ ।

प्रविधि र सामाजिक सञ्जालले श्रीमान र श्रीमतीको कतिपय ‘प्राइभेसी’ खुल्ने हुँदा पनि त्यो अन्ततः सम्बन्ध विच्छेदसम्म पुग्ने गरेको उनी बताउँछन् । श्रीमान र श्रीमती नै टाढिनुपर्ने वैदेशिक रोजगारी पनि सम्बन्ध विच्छेदमा अर्को गतिलो कारण बन्न पुगेको छ । श्रीमान विदेशमा रोजगारीमा जाँदा श्रीमती स्वदेशमा श्रीमानलाई नपर्खने हुँदा त्यसले पनि सम्बन्ध विच्छेदका घटना वृद्धि गर्न टेवा थपेको जानकारहरू बताउँछन् ।

महिला अधिकारकर्मी तथा कानुन व्यवसायी मीरा ढुंगाना भने सम्बन्ध विच्छेदको मुख्य कारण विभेदकारी कानुन रहेको ठान्छिन् । ‘संहिताले पुरुषलाई पनि सिधै सम्बन्ध विच्छेद गर्न पाउने विभेदकारी व्यवस्था ल्याएको छ, अहिले पुरुषले दिनमै सयभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा हालिरहेका छन्,’ उनले भनिन् ।
विभेदकारी कानुनका कारण समाज विकृतितिर गएको र महिलाको सुरक्षासमेत नभएको उनी तर्क गर्छिन् । ‘अहिलेको कानुनले त महिलाको सुरक्षा नै भएन, बिहेपछि घर हुन्छ भनेर कसरी सोच्ने अब रु’ उनले भनिन्, ‘महिलाले त बिहे नै नगर्दा हुने भयो ।’
यसअघि, महिलाले चाहेको अवस्थामा मात्र सम्बन्ध विच्छेद हुने व्यवस्था थियो । गत १ भदौदेखि लागू भएको मुलुकी देवानी संहिताले भने पुरुषलाई पनि सम्बन्ध विच्छेद गर्न सक्ने अधिकारको व्यवस्था गरेको छ । आजको राजधानी दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);