पञ्चवर्षीय योजनाको आधार पत्र पारित : ५ वर्ष भित्र आर्थिक वृद्धिदर ९.६ प्रतिशत पुर्‍याउने लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

जेठ २२ २०८३, शनिबार

पञ्चवर्षीय योजनाको आधार पत्र पारित : ५ वर्ष भित्र आर्थिक वृद्धिदर ९.६ प्रतिशत पुर्‍याउने लक्ष्य

rastriya bikash parisad

काठमाडौं, २१ चैत । राष्ट्रिय योजना आयोगले तयार पारेको मुलुकको आर्थिक विकासको पञ्चवर्षीय योजनाको आधार पत्र पारित गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा दुई दिनसम्म बसेको राष्ट्रिय विकास परिषद बैठकले मुलुकको आर्थिक विकासको पञ्चवर्षीय योजनाको आधार पत्र पारित गरेको हो ।

५ वर्ष भित्र मुलुकको आर्थिक वृद्धिदर ९ दशमलव ६ प्रतिशत पुर्‍याउने लक्ष्यसहित सो योजनाको आधार पत्र पारित गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले जानकारी दिए ।

बिहीबार सम्पन्न परिषद बैठकका निर्णयबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गरिवीको प्रतिशतलाई दोब्बर घटाउने लक्ष्य पनि लिइएको बताए ।

आधार पत्रमा मुलुकको समृद्धिका लागि जलविद्युत उत्पादनमा विशेष जोड दिने उल्लेख गरिएको छ । त्यसैगरी बेरोजगारीको दरलाई ११ दशमलव ४ प्रतिशतबाट घटाएर पाँच वर्ष भित्र ४ प्रतिशतमा पुर्‍याउने लक्ष्य निर्धारण गरिएको छ । उपाध्यक्ष कँडेलले गरिवी घटाउन र बेरोजगारीको दर न्यून बनाउन पूर्वाधार, जलविद्युत विकासमा विशेष जोड दिने योजना तय गरिएको पनि बताउनु भयो ।

२५ वर्षीय दिर्घकालीन सोचसहितको सो आधार पत्रमा आगामी २ वर्षलाई समृद्धि र सुःखको आधार वर्षको रुपमा व्याख्या गरिएको छ । उपाध्यक्ष कँडेलले योजनामा सामाजिक न्यायसहितको आर्थिक समृद्धिको अवधारणालाई अघि बढाउने उल्लेख गरिएको बताए ।

राष्ट्रिय योजना आयोगले तयार पारेको आधार पत्रमा सामाजिक न्यायमा आधारित उत्पादन र वितरण प्रणालीलाई अघि बढाउने भनिएको छ । परिषद बैठकले पारित गरेको सो आधार पत्र मन्त्रीपरिषद बैठकले स्विकृत गरेपछि कार्यान्वयनमा आउनेछ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. कँडेलले बलियो सरकार भएकाले सो योजनालाई गतिका साथ अघि बढाउन कुनै समस्या नहुने दावी गरे ।