बारा र पर्सामा विनाशकारी हावाहुरी: कम्तीमा २७ को मृत्यु ४०० भन्दा बढी घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बारा र पर्सामा विनाशकारी हावाहुरी: कम्तीमा २७ को मृत्यु ४०० भन्दा बढी घाइते

bara-parsa-hawahuri

काठमाडौं, १८ चैत – बारा र पर्सा जिल्लामा आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट कम्तीमा २७ जनाको मृत्यु भएको छ । घटनामा ४०० भन्दा बढी घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीले गोरखापत्रसँग राति १२ बजे कुरा गर्दै भन्नुभयो, “बारामा सबैभन्दा बढी जनधनको क्षति भएको छ । दुवै जिल्लामा गरी २७ जनाको निधन भएको जानकारी आएको छ । ” उहाँले ४०० भन्दा बढी घाइते भएका र गाउँगाउँबाट विवरण आउन बाँकी रहेको बताउनुभयो ।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार जिल्लाका सबै एम्बुलेन्स उद्धारका लागि गाउँगाउँमा पठाई सुरक्षाकर्मी परिचालन गरिएको छ । यस आपत्कालीन अवस्थामा घाइतेको उपचारमा कुनै कमी नहोस् भनी निर्देशन दिइएको उहाँले बताउनुभयो ।
प्रजिअ भट्टराईले भन्नुभयो, “घाइतेको उपचारमा रगत अभाव नहोस् भनी रेडक्रस परिचालन गरी निःशुल्क उपलब्ध गराउन व्यवस्था गरिएको छ । ” विभिन्न स्थानबाट आएको जानकारीको विवरण दिँदै उहाँले थप्नुभयो, “गण्डक चोकमा यात्रु सवार गाडीलाई नै विनाशकारी हुरीले पल्टाइदिएको छ । सडकमा गुडिरहेका हलुका सवारी साधन र मोटरसाइकलले अनियन्त्रित भएका थिए । ”

बारामा मृत्यु हुनेमा महागढीमाई नगरपालिका–७ का ६५ वर्षीया कोइलीदेवी, सोर्नागाउँपालिका–८ का ३५ वर्षीय तरिफ खान र पहिचान नखुलेका एक भारतीय नागरिक छन् ।

यहाँ मृत्यु हुनेमा प्रायः भारतीय मजदुर रहेका तथा उनीहरूको परिचय खुल्न नसकेको प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताउनुभयो । कलैया उपमहानगरपालिका–१२ स्थित इँट्टा उद्योगका धुवाँ फाल्ने चिम्नी भत्किँदा धेरै मजदुर घाइते भएको उहाँले जानकारी दिनुभयो ।
घाइतेमध्ये चारको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि वीरगन्ज पठाइएको बाराका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले जानकारी दिनुभयो ।

राति हावासँगै आएको असिनापानीले जिल्लाको पुरैनिया, परशुरामपुर, भरवलिया, पतौरा, मझौलिया, तेलगाई लगायतका स्थानमा धेरै क्षति भएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिनुभयो ।

उद्धारमा जुट्न निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ बारा र पर्सामा आएको विनाशकारी हावाहुरीका कारण भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । घटनापछि ट्विट गर्नुहुँदै उहाँले उद्धारमा गम्भीर हुन र घाइतेको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन पनि दिनुभएको छ ।

उद्धार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको र मौसमले साथ दिनेबित्तिकै तत्काल उद्धारमा खट्न पनि उहाँले आह्वान गर्नुभएको छ । यो समाचार गोरखा पत्रमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);