महोत्तरी, १६ चैत । कहिलेकाहीँ दुःख पनि सुख बोकेर आउँदो रहेछ। यस्तै भएको छ, अमृताकुमारी कापरको जीवनमा पनि। तीन वर्षअघि दाइजोमा लैनो भैंसी नपाएको निहुँमा उनको सिउँदो नपुछिएको भए अहिले उनी चरम यातना सहँदै बाँचिरहेकी हुन सक्थिन्। न पढ्न नै पाउँथिन्। तिनै अमृता अहिले एसईई दिइरहेकी छन्।
महोत्तरीको बर्दिवासस्थित जनता माध्यमिक विद्यालय गौरीडाँडाको परीक्षा केन्द्रमा एईईको दिइरहेकी छन्, उनी। बाबुआमाले दाइजोमा लैनो भैंसी दिन नसक्दा उनको बिहे बिथोलिएको थियो। मण्डपबाटै बेहुलाले उनलाई छाडी गएका थिए।
तीन कठ्ठा घडेरी बेचेर बुबा रामप्रकाशले केटापक्षले मागेको मोटरसाइकल, गरगहाना, लत्ताकपडासहित पाँच लाख रुपैयाँ दिएका थिए। तर केटा पक्षले दाइजोमा लैनौ भैंसी पनि मागे। अमृताको परिवारले दिन सकेन। त्यसपछि केटा पक्षले अमृताका बुबा र आफन्तलाई कुटपिट मात्रै गरेन, सिन्दूर हालिसकेकी अमृतालाई समेत छाडेर गयो। ‘अझै पढ्ने इच्छा छ’, एसईई केन्द्रमै भेटिएकी उनले भनिन्, ‘दाइजो नलिने केटासँग मात्रै अब विवाहको कुरा हुन्छ।’ छोरीलाई दाइजो होइन, शिक्षाको आवश्यकता रहेको उनले बताइन्।
गरिबीका कारण बर्दिवास नगरपालिका–७ फूलबारी टोलकी अमृताले कक्षा ९ पढ्दै गर्दा स्कुल छाडेकी थिइन्। १७ वर्षकै उमेरमा २०७३ माघ ९ मा अमृताको विवाह धनुषाको कान्छी बजारका रौदी कापरसँग हुँदै थियो। घटनापछि अमृताको परिवारले बेइज्जती भएको महसुस गर्यो। बाआमा मूच्र्छित भए।
तर अहिले अमृताको संघर्षलाई हेरेर गाउँले चकित छन्। सिउँदो बिथोलिएपछि अमृताले निधो गरिन्— दाइजोविरुद्ध लड्न स्कुल पढ्ने। सपना पनि सँगालिन्— नर्स बन्ने। त्यसैले गरिबीका कारण रोकिएको पढाइ उनले फेरि थालिन्।
यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।