८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता बैशाख पहिलो हप्ता | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता बैशाख पहिलो हप्ता

काठमाडौं, १५ चैत । ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी बैशाख ५ गतेदेखि ११ गतेसम्म संचालन हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको शुक्रबार बसेको बोर्ड बैठकले ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गरेको हो ।

युवा तथा खेलकुद मन्त्री एवम् परिषदका अध्यक्ष जगत विश्वकर्माको अध्यक्षमा काठमाडौंमा बसेको परिषद बैठकले नेपालगंजमा आयोजना हुने सो खेलकुद प्रतियोगिताको आवश्यक व्यवस्था मिलाउन विभिन्न उपसमितिहरु पनि बनाएको छ ।

मौसम, पूर्वाधार, खेलाडीहरुको परीक्षालाई समेत ध्यानमा राखेर सो प्रतियोगिताको मिति तय गरिएको परिषदका सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए । परिषद बैठकले सो प्रतियोगिता सम्पन्न भएको एक हप्तापछिबाटै दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको तयारीका लागि आवश्यक व्यवस्थापनको कामलाई पनि तीव्रता दिने निर्णय गरेको छ ।

बैठकमा बोल्दै परिषदका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री विश्वकर्माले सो खेलकुद प्रतियोगिताको तयारीको कामलाई पारदर्शी ढंगले अघि बढाउन मातहतका निकायलाई निर्देशन दिए । उनले सरकारले सो प्रतियोगिताका लागि उपलब्ध गराएको बजेट हिनामिना हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे ।

राष्ट्रिय खेलकुद परिषदले यस अघि गत मंसीर २१ गते सो प्रतियोगिता आयोजना गर्ने निर्णय गरेपनि कार्यान्वयन गर्न सकेको थिएन । सदस्य सचिव विष्टले अव सो प्रतियोगिता नसर्ने गरी मिति तय गरिएको बताए । परिषदले सो प्रतियोगिताको व्यवस्थापनको कामलाई चुस्त बनाउन पुनः बैठक बस्ने तयारी पनि गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);