आन्दोलनमा प्रहरीको गोली लागेका मणी नेपालीको बिजोग, परिवारलाई हातमुख जोड्न धौधौ | ईमाउण्टेन समाचार

Our Network

असोज २६ २०८१, शनिबार

आन्दोलनमा प्रहरीको गोली लागेका मणी नेपालीको बिजोग, परिवारलाई हातमुख जोड्न धौधौ

mani nepali

पुजन घिमिरे

झापा, १३ चैत । झापाको बिर्तामोडमा गतवर्ष भएको आन्दोलनमा प्रहरीको गोली लागि घाइते भएका मणी नेपालीको यतिबेला बिजोग छ । रकम अभावमा गोलीले छेडेको कुँईनाको अझैँ राम्ररी उपचार भएको छैन भने कमाई गर्ने व्यक्ती नै थला परेपछि उनको परिवारलाई हातमुख जोड्नै समस्या परेको छ ।

झापाको अर्जुनधारा–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्यारालाई कारवाहीको माग गर्दै गत वर्ष कात्तिकमा स्थानीयहरु आन्दोलित भएका थिए । स्थानीयको प्रदर्शनले उग्ररुप लिँदा गत वर्ष कार्तिक १० गते प्रहरीले चलाएको गोली लागि इलामको माईनगरपालिका–२ का मणी नेपाली घाइते भएका थिए । विगत एक दशकदेखि घर बनाउने मिस्त्रीको काम गरी झापाको बिर्तामोड—५ मा बस्दै आएका उनलाई आन्दोलनका क्रममा गोली लाग्दा बाँया हातको कुँइना र पेटमा चोट लागेको थियो । तत्कालको अवस्थामा सरकारले अरु घाइते सरह उपचार गरिदिए पनि त्यसपछि कसैले चासो नदिँदा आफ्नो र परिवारको बिजोग भएको उनको दुखेसो छ ।

झापाको बिर्तामोड–५ मा डेरा लिएर बस्दै आएको नेपालीको परिवार मणी थला परेपछि साहाराबिहिन भएको छ । उनकी श्रीमती मञ्जुले अरुको घरमा काम गरेर कमाएको मासिक पाँच हजारले जसोतसो हातमुख जोडिरहेका छन् । घरजग्गा केही पनि नभएका उनीहरुको भएकी एउटी आमा पनि बहिनीले पालनपोषण गरिरहेकी छिन् । उनीहरुको नौ बर्षीय छोरा रोनिष बिर्तामोडकै देवी माविको कक्षा दुईमा अध्ययनरत छन् । परिवारमा आम्दानी गर्ने मुख्य व्यक्ति नै अशक्त भएपछि छोराको पढाई र घर चलाउन कठिन भएको छ ।

एक वर्ष अघि कात्तिकमा भएको घटनामा झापा अर्जुनधारा–५ का नरेश थापाको मृत्यु भएको थियो भने मणीसहित २ जना गम्भीर र ४ जना घाइते भएका थिए । बिर्तामोड नगरपालिकाका प्रमुख धु्रबकुमार शिवाकोटीले घाइतेहरुलाई त्यसबेला सरकारले उपचार गरिदिएको र अब स्थानीय सरकारले पनि केही गर्न नसक्ने बताए । तर उनले क्यामेरामा नबोल्न भने मानेन् । सहयोगको आश्वासन धेरैबाट पाएपनि कतैबाट पनि सहयोग नहुँदा घाइते मणी नेपालीको परिवार अहिले बिचल्लीमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);