काठमाडौं, ११ चैत । रिक्त रहेको प्रमुख निर्वाचन आयुक्त पदमा सिफारिस गर्न संवैधानिक परिषद्को बैठक आज ३ बजे बस्दैछ ।
अयोधीप्रसाद यादव ६ वर्षे कार्यकाल सकेर आइतबार सेवानिवृत्त भएका हुन् । आयुक्त इला शर्माले पनि आइतबारदेखि नै अवकाश पाएका छन् । आजको परिषद् बैठकमा संविधान अनुसार गठन हुनु पर्ने राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, आदिवासी जनजाती आयोगको अध्यक्ष तथा सदस्य नियुक्तीका विषयमा समेत छलफल हुने जनाइएको छ ।
परिषद्को सिफारिसमा यसअघि नै प्राकृतिक स्रोत तथा वित्त आयोग, समावेशी आयोग, थारु, मुस्लिम र मधेशी आयोगमा अध्यक्ष नियुक्त भैसकेका छन् । तर ती सदस्यहरूको नियुक्ती सिफारिस हुन बाँकी छन् । रिक्त सदस्य पदहरूमा नियुक्तीका विषयमा समेत बैठकमा छलफल हुने जनाइएको छ ।




