काठमाडौं, १० चैत । राष्ट्रियसभाका सांसदहरुले प्लाष्टिकका झोला प्रयोगमा लगाईएको प्रतिबन्ध कार्यान्वयन नभएको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको आईतबार बसेको बैठकमा सांसदहरु डाक्टर बिमला राई पौडेल, रामनारायण विडारी र काली बहादुर मल्लले संयुक्त रुपमा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाईएको बारे राजपत्रमा प्रकाशित सूचना तत्काल कार्यान्वयनको माग गर्दे ध्यानाकर्षण प्रस्ताव प्रस्तुत गरेका हुन् । प्रस्ताव प्रस्तुत गर्दै सांसद सांसद बिमला राई पौडेलले प्लाष्टिकको प्रयोग सम्बन्धमा राजपत्रमा प्रकाशित सूचनाको प्रभावकारी कार्यान्वनय गर्न वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतको ध्यानाकर्षण गराए । उनले ४० माईक्रोन मोटाई भन्दा कमका प्लाष्टिकका झोला उत्पादन गर्न नपाईने गरि प्लाष्टिक झोला नियमन तथा नियन्त्रण निर्देशिका २०६८ लाई संसोधन गर्न माग गरे ।
त्यसैगरी ध्यानाकर्षण प्रस्तावक अर्का सदस्य रामनारायण विडारीले अघिल्लो सरकारले ४० माईक्रोन भन्दा कम तौलका प्लाष्टिकका झोला उत्पादन गर्ने कम्पनिलाई उत्पादनमा रोक नलगाइएको भन्दै सरकारसंग जवाफ माग गरेका छन् ।
सांसदहरुले उठाएका प्रश्नको जाफ दिदै वन तथा वाताबरण मन्त्री शक्ति बहादुर बस्नेतले प्लाष्टिक झोला नियमन तथा नियन्त्रण निर्देशिका ऐन २०६८ लाई संसोधन गरि कम तौलका प्लाष्टिकका झोला उत्पादनमा नै रोक लगाउने तयारी सरकारले गरिरहेको स्पष्ट पारे ।
उनले सके सम्म न्युन प्रयोगको वातावरण श्रृजना गर्ने तथा प्रशोधनका लागि आवश्यक वातावरण श्रृजना गर्ने र पुनप्रयोग नहुने प्लाष्टिकको प्रयोग नै नगर्ने वातावरण श्रृजना गर्ने विषयलाई सरकारले केन्द्रमा राखेर काम गरिरहेको बताए ।




