पौषमै सम्पन्न हुनु पर्ने सडक निर्माण कार्य अझै अलपत्र | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

पौषमै सम्पन्न हुनु पर्ने सडक निर्माण कार्य अझै अलपत्र

sadak

मदन बिक

बाजुरा, ३ चैत  । बाजुराको सदरमुकाम मार्तडी बजारमा गएको पौषमा नै सम्पन्न हुनु पर्ने सडक निर्माण कार्य अझै अलपत्र परेको छ । ठेकेदारका अनुसार नगरपालिकाले बाटोमा भएको बिजुलीको पोलहरु नहटाउँदा सडक ढलान लगायतका कार्यहरुमा बाधा परेको हो ।

नेपालको अति दुर्गम जिल्लाहरुमा बाजुरा पनि पर्दछ । विकास सुचाकंको आधारमा अति पछाडि परेको बाजुराको सदरमुकाम मार्तडी बजार मै समेत पक्की सडक सञ्जाल अझै बन्न सकेको छैन । मार्तडी बजारमा सडक निर्माणकार्य शुरु भए पनि विभिन्न कारण निर्माण कार्य अलपत्र परेको छ । गएको पुस मै सम्पन्न गर्नु पर्ने सडक अलपत्र भएपछि त्यहाँका स्थानीयहरुलाई आवतजावतमा समस्या परेको छ ।

सडक निर्माण नहुँदा बाटोमा हिलैहिलो भएपछि बजारमा आवतजावत गर्ने विद्यार्थी, बृद्धबृद्धा, अपाङ्गता भएका व्यक्ति निकै सास्ती भोग्न बाध्य छन् । ठेकेदारको लापरबाहीका कारण सडक निर्माण सम्पन्न हुन नसक्दा आफुहरुलाई आवतजावतमा असहज भएको स्थानीयको भनाई छ ।

सडक निर्माणको ठेक्का गएको पुसमा सम्पन्न भएर असार २० सम्म सक्ने गरी ठेक्का थप गरिएको छ । सडक निर्माणको जिम्मा पाएको ठेकेदार विजय पण्डितले भने सडकमा भएका बिजुलीका पोलहरुले गर्दा र सडकमा पर्ने केही जग्गा धनीहरुले आफ्नो जग्गा दिन नमानेकाले निर्माण कार्य अघि बढाउन समस्या परेको निर्माणमा जुटेका ठेकेदार बताउँछन् ।

विद्युत प्राधिकरणलेबीच सडकमा भएका बिजुलीका पोलहरुलाई नहटाई नै ढलान गर्न थालिएको छ । बडीमालिका नगरपालिकाले निर्माण गर्न थालेको सडक डिभिजन वन कार्यालयदेखि जिल्ला स्वास्थ्य कार्यालयसम्म एक सय ७० मिटर सडक र गौडाडिलदेखि खुलामञ्चसम्मको एक सय ८४ मिटर रहेको छ । बडीमालिका नगरपालिका वडा नं ८ का वडा अध्यक्ष प्रकाश रावलले नगरपालिकासँग समन्वय गरी सकेसम्म चाँडो निर्माण सकाउन तिर लागेको जानकारी दिए ।

बाजुराको सदरमुकामा अहिले तीन सय ५४ मिटर सडक निर्माण कार्य भइरहेको छ । सडक नबन्दा जिल्ला प्रशासन कार्यालय बाजुरा र जिल्ला स्वास्थ्य कार्यालय बाजुराको भवन निर्माण समेत प्रभावित भएको छ । सडकको बीच बजारमा हटाउनु पर्ने घर, बिजुलीको पोल नहटाउँदा बीच बजारमा सडक निर्माण अस्तव्यस्त बनेको हो । सडक निर्माण कार्य अधुरै छोडेर ठेकेदारले काम नगर्दा सडक आसपासका पसल र होटल व्यवसायीले समेत हैरानी खेप्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);