झापा, २७ फागुन । झापा गोल्डकप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ । झापाको डोमालाल राजवंशी रंगशालामा सोमबार भएको फाइनलमा घरेलु टोली झापा– ११ लाई ५–३ गोल अन्तरले पराजित गर्दै आर्मीले लगातार दोस्रो पटक उपाधि हात पारेको हो ।
उपाधिसँगै आर्मीले १२ लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ । झापाले यस पटक पनि उपाधि जित्न सकेन । २२ औं मिनेटमा झापाका खेलाडीले आर्मीका कप्तान भरत खवासलाई फल गरेपछि डी बक्स बाहिरबाट पाएको फ्री किकलाई सन्तोष तामाङले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।
यसैगरी ३३ औं मिनेटमा भरत खवासले गोल गर्दै अग्रता दोब्बर बनाए । ४३ औं मिनेटमा झापा ११ ले एक गोल फर्काएको थियो । फ्रान्सिसले गोल गर्दै पहिलो हाफमा अग्रता दुई एकमा झारेका थिए ।
५४ औं मिनेटमा झापाका लागि हेमन गुरुङले गोल गर्दै २–२ को बराबरीमा ल्याएका थिए । ७५ औं मिनेटमा नबयुग श्रेष्ठले गोल गदै आर्मीलाई ३–२ को अवस्थामा लगेका थिए । ८५ औं मिनेटमा आर्मीका सन्तोष तामाङले व्यक्तिगत दोस्रो गोल गर्दा आर्मीले ४–२ को अग्रता बनाउन पुगेको थियो ।
त्यसपछि पनि आर्मीले गोल थपेको थियो । टेकबहादुर बुढाथोकीले इन्ज्योरी टाइममा गोल थप्दै आर्मीलाई ५–२ को अवस्थमा लगेका थिए । अन्तिम समयमा झापा ११ ले थप एक गोल गर्दै अन्तर ५– ३ मा झारेको थियो ।