सिके राउतले असाधारण निर्णय क्षमता देखाए : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सिके राउतले असाधारण निर्णय क्षमता देखाए : प्रधानमन्त्री

काठमाडौं, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मूल धारको राजनीतिमा आउन सिके राउतले असाधारण निर्णय क्षमता देखाएको भन्दै प्रशंशा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मूल धारको राजनीतिमा आउने स्वतन्त्र मधेश गठबन्धनका नेता राउतको सो असाधारण निर्णय क्षमता यस अघि पुष्पकमल दाहालले मात्रै देखाएको पनि उल्लेख गरे ।

सरकार र राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनबीच शुक्रबार काठमाडौंमा आयोजित ११ बँुदे सहमति घोषणा कार्यक्रममा बोल्दै उनले दाहालले हतियारको राजनीति गरिरहेको तत्कालीन माओवादीलाई मूल धारको राजनीतिमा ल्याउने, संविधान निर्माण गर्ने लगायतका आधारण कामको नेतृत्व लिएको पनि स्मरण गरे ।

प्रधानमन्त्री ओलीले मुलुकमा समृद्धिको अभियान सुरु भएकाले त्यसलाई अघि बढाउने राउतको निर्णय सही भएको बताए । प्रधानमन्त्री ओलीले राउत मूलधारको राजनीतिमा आउने सहमतिले मुलुकको राष्ट्रिय एकतालाई झनै सुदृढ बनाउने विश्वास गरे ।

प्रधानमन्त्री ओलीले मुलुकको राष्ट्रिय एकतामा फाटो ल्याउन खालका गतिविधि नगर्न राष्ट्रिय जनता पार्टी, नेपाललाई पनि आग्रह गरे । राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मुलुकमा राजनीतिक अस्थिरता ल्याउन खोजेको प्रधानमन्त्री ओलीको आरोप छ ।

प्रधानमन्त्री ओलीले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई लुटेरा समूहको संज्ञा दिए । मुलुकमा लुट मच्चाईरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले चन्द नेतृत्वको नेकपालाई आफ्नो नाम ‘लुटेरा समूह’ राख्न पनि सुझाव दिए । उनले सरकारले मुलुकको शान्ति सुरक्षाको लागि लुटपाटमा संलग्नहरुमाथि कडा कार्वाही गर्ने चेतावनी दिए ।

कार्यक्रममा बोल्दै स्वतन्त्र मधेश गठबन्धनका नेता सिके राउतले सरकारसँग गरिएको सहमति ऐतिहासिक भएको बताए । उनले शान्तिपूर्ण रुपमा मुलुकको समृद्धिको अभियानलाई सफल बनाउन आफूले सो सहमति गरेको पनि स्पष्ट पारे । नेता राउतले मधेशको माग लोकतान्त्रिक विधिद्धारा पूरा गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);