स्वार्थका रोटी सेक्ने दिन गए : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

स्वार्थका रोटी सेक्ने दिन गए : प्रधानमन्त्री

काठमाडौं, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण राजनीतिमा आएका सीके राउतको प्रशंसा गरेका छन् । सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमतिपत्रमा हस्ताक्षरपछि उनले राउतको राजनीतिक यात्रा प्रारम्भसँगै तराईमा स्वार्थको रोटी सेक्न चाहनेहरूको दिन पनि सकिएको बताए ।

त्यही क्रममा उनले राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गरेकोप्रति कटाक्ष पनि गरे । ‘देश विखण्डन गर्ने कुरामा कसैसँग पनि सम्झौता हुन सक्दैन,’ उनले भने, ‘देश टुक्र्याउने कुरा आजबाट समाप्त भयो । रोटी सेक्ने चाहनेहरूको रोटी पनि काँचै रहे ।’

ओलीले राउतलाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग तुलना गरे । ‘हतियार त्यागेर संसद्, सरकार, चुनावमा सहभागिता अनि पार्टी एकताको निर्णय गर्ने कुरा सानो मुटुले हुन्न । त्यस्तो असाधारण निर्णय क्षमता एउटा पुष्पकमल दाहालमा देखें,’ ओलीले भने, ‘सीके राउतजीमा पनि त्यस्तै छाँटकाँट देखें ।’

ओलीले राजपाप्रति खुलेरै असन्तुष्टि प्रकट गरे । टीकापुर घटनाका मुख्य योजनाकार सांसद रेशम चौधरीलाई अदालतले बुधबार जन्मकैद सुनाएलगत्तै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएको थियो । यो प्रसंगलाई ओलीले ‘खिसियानी बिल्ली, खंभा नोचे सोधे’ भन्ने हिन्दी उखान सुनाउँदै कटाक्ष गरे । ‘अदालतले फैसला गर्ने अनि चिथोर्ने सरकारलाई ?’ प्रधानमन्त्रीले भने, ‘पृथकतावादीलाई छोड्ने, हामीलाई थुन्ने भन्नुहुन्थ्यो उहाँहरू, त्यो पनि खिस्रिक्क भयो । देश टुक्र्याउने कुरा पनि सकियो ।’

मधेसमा ६ वर्षदेखि पृथकतावादी आन्दोलन थालेका राउतले पनि प्रधानमन्त्रीको सकारात्मक पहलका कारण आफू राजनीतिक मूलधारमा आएको उल्लेख गर्दै ओलीको प्रशंसा गरेका थिए । उनले आन्दोलनलाई शान्तिपूर्ण मार्गमा अवतरण गराउँदा खुसी लागेको बताए । स्वतन्त्र मधेसको माग राखेर आन्दोलन अघि बढाउँदा यसको अवतरण कसरी होला भन्नेमा आफू जहिल्यै चिन्तित हुने गरेको राउतको भनाइ थियो ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);