विराटनगर, २२ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपतिशम्शेर जबराले वर्तमान सरकार भ्रष्टाचारमा डुबिसकेको आरोप लगाएका छन् । विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै जबराले वर्तमान सरकार भ्रष्टाचारमा डुबेको बताए ।
“प्रधानमन्त्रीज्यू सुशासनको कुरा गर्नुहुन्छ तर मुलुक भ्रष्टाचारमा डुबिसकेको छ,” उनले भने, “जताततै भ्रष्टाचार, असुरक्षा बढेको छ । यो सरकारको कुशासन हो ।” वाइडबडी, ३३ किलो सुनकाण्ड लगायतमा सरकारकै संलग्नता रहेको उनको दाबी थियो ।
दुई तिहाई बहुमतको सरकारले जनतालाई राहत दिने कुनै काम गर्न नसकेको उनको भनाइ थियो । इतिहासकै शक्तिशाली सरकार बने पनि जनताका लागि सरकारले उल्लेख्य केही नगरेको बताउँदै उनले थपे, “सरकार पार्टी र व्यक्ति केन्द्रित भएको छ ।”
जबराले आफूहरूले उठाउँदै आएको राजसंस्थासहितको प्रजातन्त्र र हिन्दू धर्मका विषयमा सम्बोधन गरिनुपर्नेमा जोड दिए । अध्यक्ष जबराले राप्रपा संयुक्तको एजेण्डामा सहमति जनाउनेका लागि पार्टीको ढोका खुल्ला रहेको बताउँदै चुनाव चिन्हका विषयमा सहमति हुन नसकेका कारण कमल थापा नेतृत्वको राप्रपासँग एकीकरण हुन नसकेको प्रष्ट पारे ।
कार्यक्रममा राप्रपा संयुक्तकै अर्का अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र, सबैलाई स्वीकार्य संवैधानिक राजसंस्था स्थापनाको मुद्दा लिएर पार्टी अगाडि बढेको जानकारी गराए । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।