७५ वर्षीय र ६५ वर्षीया साह दम्पतीको हत्यापछि घरभित्रै जलाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

७५ वर्षीय र ६५ वर्षीया साह दम्पतीको हत्यापछि घरभित्रै जलाइयो

shah dampati

खरचुहिया, सप्तरी, १५ फागुन ।  सप्तरीको खड्ग नगरपालिका ५ खरचुहिया बजारमा सोमबार राति एक दम्पतीको हत्यापछि घरभित्रै जलाइएको छ । ७५ वर्षीय सबुरी साह र उनकी श्रीमती ६५ वर्षीया बेचनीदेवी साहको हत्यापछि कोठाभित्रै आगो लगाई जलाइएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

खरचुहिया बजारमा पूर्वपश्चिम राजमार्गसँगै जोडिएको उनको दुईतले पक्की घरमा सोमबार राति हत्या गरी जलाइएको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले जानकारी दिए । मंगलबार बिहान ८ बजे दूध लिएर आएका व्यक्तिले घर नखुलेको र भुइँतलाको झ्यालबाट धूवाँ निस्केको देखेपछि स्थानीयलाई खबर गरेका थिए । त्यसपछि प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरी टोली घटनास्थल पुग्दा दम्पतीको शव कोठाभित्रै पूर्ण रूपमा जलेर नष्ट भएको अवस्थामा फेला परेको थियो । ‘सुविधा सम्पन्न घरको भुइँतलाको कोठामा पूर्ण रूपमा जलेको अवस्थामा दम्पतीको शरीरका केही कंकाल मात्र भेट्यौं,’ एसपी विष्टले कान्तिपुरसित भने, ‘घटनास्थलको प्रकृति हेर्दा लुटपाट गर्ने उद्देश्यले हत्या गरेर जलाएको हुन सक्ने हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’

हत्यापछि घरमा रहेका लुगाफाटाले छोपेर आगो लगाइएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । घरभित्र र बाहिर धेरै स्थानमा रगतका छिटा देखिएकाले दम्पतीको धारिलो हतियार प्रहार गरी हत्या गरेर जलाइएको हुन सक्ने प्रहरी अनुमान छ ।

‘घरभित्रको फ्रिज र दराज तथा आँगन र पर्खाल नजिक रगतको छिटा देखिएका छन्,’ एसपी विष्टले भने । हत्या गर्ने समूह फलामको भर्‍याङबाट घरको पश्चिमी पर्खाल पार गरी आँगन हुँदै भित्र प्रवेश गरेको हुन सक्ने प्रहरी अनुमान छ ।

हत्या गरिएका सबुरी साह केही वर्षदेखि पक्षाघातपीडित थिए । दम्पतीमात्र घरमा बस्दै आएका थिए । दम्पतीका दुई छोरामध्ये जेठा सत्यनारायण खानेपानी कार्यालय उदयपुरमा इन्जिनियर छन् भने कान्छो छोरा तेजनारायण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इन्जिनियर छन् । तेजनारायणका अनुसार दम्पतीले सोमबार साँझ उनीसित टेलिफोनमा कुराकानी गरेका थिए । त्यसक्रममा बुबाआमाले कुनै खतराको कुरा नबताएको तेजनारायणले बताए ।

स्थानीय बासिन्दाका अनुसार सम्पन्न परिवारका साह दम्पतीले स्थानीयस्तरमा लाखौं रुपैयाँ ब्याजमा लगाएका थिए । कम्तीमा ५० लाख रुपैयाँभन्दा बढी स्थानीयस्तरमा लगानी रहेको छोरा तेजनारायणले बताए । हत्या गर्ने समूहले दराजभित्र रहेका कर्जासम्बन्धी विभिन्न कागजातसमेत जलाएकाले हत्या र जलाउने कार्यमा ऋण लिएका कुनै व्यक्ति नै संलग्न हुन सक्ने स्थानीयको आशंका छ । सप्तरी प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

सप्तरी प्रहरीका साथै पूर्व क्षेत्रीय प्रहरी आवासीय विद्यालय धरानबाट तालिम प्राप्त कुकुरसमेत अनुसन्धानका लागि ल्याइएको छ भने प्रदेश प्रहरी कार्यालय जनकपुरबाट अनुसन्धान ब्युरोका अधिकारीहरूसमेत अनुसन्धानमा जुटेका छन् । यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट फरेन्सिक टोली पनि अनुसन्धानमासंलग्न रहेको सप्तरीका एसपी विष्टले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);