दाहाल भन्छन्, 'जनयुद्धभन्दा राजनीतिक लडाइँ जटिल' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

दाहाल भन्छन्, ‘जनयुद्धभन्दा राजनीतिक लडाइँ जटिल’

Prachanda

गोरखा, १५ फागुन । जनयुद्धभन्दा राजनीतिक लडाइँ जटिलपूर्ण रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । बारपाक सुलिकोट गाउँपालिकामा भएको ‘जनयुद्ध’का प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति सभालाई सम्बोधन गर्दै उनले संविधान निर्माणदेखिकै यात्रा चुनौतीपूर्ण रहेको बताए ।

‘संविधानसभाबाट संविधान बनाउन थुप्रै घेराहरु थिए, धेरै पसिना बगाउनुपरेको थियो, हिमाल, तराईलाई एकताबद्ध बनाउन पनि धेरै दवाव, अप्ठ्याराहरु घेराबन्दी थिए,’ उनले भने, ‘अहिले हतियारको युद्ध नरहे पनि राजनीतिक युद्ध जनयुद्धको भन्दा कम चुनौती छैन, हिजो जनमुक्ति सेनाको सुरक्षा पंक्तिमा हुन्थे, अहिले राज्यको सुरक्षामा छु, तर त्यो बेलाको युद्धभन्दा अहिलेको राजनीतिक लडाइँ गाह्रो र अप्ठ्यारो भएको महसुस गर्छु ।’

दुई तिहाइको बहुमत प्राप्त सरकारको कामप्रति जनताको गुनासो आफूहरुले बुझेको उनले बताए । जनताले अनुभूत गर्नेगरी आगामी बजेट ल्याउन छलफल चलिसकेको उनको दाबी छ । वृद्धभत्ता, पूर्वाधार, शिक्षा स्वास्थ्य रोजगार जनतालाई अनुभूति हुने गरी अबको बजेट आउने दाहालले बताए । ‘दुई तिहाइको बहुमत सरकार भएको बेला फटाफट निर्माण होला, भ्रष्टमाथि छिटो कारबाही होला, सुशासन होला जनतालाई लागेकै थियो,’ उनले भने ‘समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरे पनि बितेको एक वर्षमा विदेशी सम्वन्ध सुधार्ने, कानुन बनाउने, मौलक अधिकारलाई कानुनी व्यवस्था गर्ने र पूर्वाधार विकासका लागि योजना बनाउने निकै राम्रो काम सुरु भयो ।’

अबको बजेटमा वृद्धभत्ता पनि बढ्ने उनले बताए । ‘वृद्धभत्ता पाँच हजार पुर्‍याउछौँ भनेर कस्सिएरै भनेका थियौं, हाम्रो पार्टीले भनेको कुरा किन नपुर्‍याएको होला भन्ने तपाईहरुलाई लागेको छ, हामीलाई थाहा छ,’ उनले भने, ‘जनताले देख्ने गरी अब बन्ने बजेटमा यो पटक नसकेका कुरा समेट्छौँ ।’

१० वर्षे जनयुद्धका सहिद र वेपत्ता परिवारलाई परिचयपत्रसँगै क्षतिपूर्ति उपलब्ध गराउने दाहालले बताए । सत्य निरुपण र वेपत्ता छानबिन आयोग बने पनि कछुवाको गतिमा काम भएको उनले गुनासो गरे । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);