वीपावरको पहिलो सम्मेलन : ऊर्जामा महिला सहभागिताको खोजी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

वीपावरको पहिलो सम्मेलन : ऊर्जामा महिला सहभागिताको खोजी

Mahila

काठमाडौँ, १० फागुन । ‘मैले काम थालेको कम्पनीसँग विद्युत् आयोजनास्थल जान्छु भन्दा महिला भएकले असुरक्षा हुन्छ भन्दै पहिलो पटक रोकियो । आयोजनास्थलबाट ४० किलोमिटर परसम्म कुनै महिला नभेटिने स्थानमा काम गर्नुपर्ने थियो । दोस्रो पटक मेरो जिद्दीपछि अन्ततः कम्पनीले सुरक्षा व्यवस्थासहित पठायो ।’

यो भनाइ हो ‘वीमिन पावर पाकिस्तान’ नामक संस्थाकी संस्थापक रम्ला कुरेसीको । राजधानीमा आयोजित दक्षिण एशियाको ऊर्जा क्षेत्रमा आबद्ध महिलाहरूको सञ्जाल ‘वीपावर’को पहिलो सम्मेलनमा कुरेसीले उक्त अनुभव साटेकी हुन् । कुरेसीले थपिन्, ‘काम गर्ने स्थानमा पुगेर आफ्नै आँखाले हरेक कुरा हेरेँ, छोएँ, महसूस गरेँ अनि काम सकेर फर्किएँ । अन्ततः त्यस वर्षको उत्कृष्ट परियोजना व्यवस्थापकको उपाधि पाउन सफल भएँ ।’

अवसर पाए परम्परागत रूपमा पुरुषले गर्ने भनिएका क्षेत्रका काम महिलाले पनि दक्षतापूर्वक गर्न सक्छन् भन्ने कुरेसीका जस्ता धेरै उदाहरण सम्मेलनमा प्रस्तुत भएका थिए । त्यसैगरी राज्यका तर्फबाट पनि ऊर्जाक्षेत्रमा महिला सहभागिता बढाउने प्रयास भइरहेको भुटानी प्रतिनिधि ङिडुप छिरिङले बताए । उनले भुटानले विद्युत् प्रसारण तथा वितरण क्षेत्रका मर्मतको तालीम दिई महिलाहरूलाई रोजगारीको अवसरमा जोडेको श्रव्यदृश्य प्रस्तुत गरेका थिए ।

यस्तै, श्रीलंकाको ऊर्जा मन्त्रालयले अनुभवी महिला कर्मचारी टिकाउन शिशु स्याहारको व्यवस्था गरेको सम्मेलनमा सहभागी श्रीलंकाकी एक प्रतिनिधिले बताइन् । सम्मेलनले समग्रमा दक्षिण एशियाका साथै अन्य केही देशको ऊर्जाक्षेत्रमा महिला सहभागिता र सोको अभिवृद्धिका लागि निर्वाह गरिएका भूमिकाका सम्बन्धमा स्पष्ट पारेको छ ।  यो समाचार आजको अभियान दैनिक पत्रिकामा छापिएको छ ।

बुधवारदेखि राजधानीमा शुरू भएको सम्मेलनमा दक्षिण एशियाका आठओटै देश, भियतनाम, अमेरिका लगायत मुलुकका प्रतिनिधिको सहभागिता थियो । ऊर्जाक्षेत्रमा सक्रिय महिला र पुरुष गरी करीब २५० जना सम्मेलनमा सहभागी थिए । सहभागीमध्ये सम्बद्ध देशका ऊर्जासम्बद्ध सरकारी निकाय, निजी कम्पनीका साथै समुदायमा काम गरिरहेका संस्थाका प्रतिनिधिहरू थिए ।

दक्षिण एशियाको ऊर्जाक्षेत्रमा महिला सहभागिताको मूल्यांकन, ऊर्जा पहुँचमा महिला उद्यमी, यस क्षेत्रमा महिला सहभागिता वृद्धिका लागि पेशाकर्मी तथा उद्योगीहरूले कसरी सघाउन सक्छन्, ऊर्जाक्षेत्रमा किन र कसरी महिला नियुक्ति आवश्यक छ लगायत १४ ओटा विषयमा सम्मेलनमा कार्यपत्र प्रस्तुत र छलफल चलेको थियो । सम्मेलनमा उपस्थित सहभागीहरूबीच सहकार्यको प्रतिबद्धतासमेत व्यक्त भएका छन् । यसले आगामी दिनमा ऊर्जाक्षेत्रमा महिला सहभागिता वृद्धिमा सघाउने विश्वास सम्मेलन आयोजक विश्व बैंकका नेपाल ‘कन्ट्री म्यानेजर’ फरिस हाडाड जेर्भोसको छ । ऊर्जाक्षेत्र व्यवस्थापन सहायता कार्यक्रम (ईएसएमएपी) को सहयोगमा दक्षिण एशिया ऊर्जा तथा सामाजिक विकास युनिटले सम्मेलन आयोजना गरेको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);