काठमाडौं, २९ माघ । राष्ट्रियसभाका सांसदहरुले देशको समयसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको मंगलबार बसेको बैठकको विशेष समयमा सांसदहरुले बिभिन्न जिल्लामा संञ्चालित परियोजनाहरुको रोकिएको काम अबिलम्ब सुरु गर्न, माग गरेका हुन ।
सांसद शेर बहादुर कुँवरले मुलुकभरका बिभिन्न जिल्लामा संचालित आयोजना तथा परियोजनाहरु निर्माणको काम केन्द्र सरकारले रोकेको भन्दै प्रदेश सरकार मार्फत तत्काल सुचारु गर्न सरकारको ध्यानकर्षण गराए ।
त्यसैगरी सांसद राधेश्याम अधिकारीले राष्ट्रिय शिक्षा आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरे । सरकारले आफू अनुकुलका विषयमा मात्रै संसदीय सर्वोच्चताको कुरा गर्ने गरेको भन्दै उहाँले प्रतिवेदन सार्वजनिक नभएको प्रति आपत्ती जनाए ।
सांसद चक्रप्रसाद स्नेहीले वाईड वडी विमान खरिद प्रकरणको बारेमा भएको अध्ययन अनुसन्धान बारे सदनलाई जानकारी गराउन माग गरे ।