काठमाडौं, २७ माघ । भेनेजुएलाको राजनीतिक संकटलाई लिएर जुहारीमा उत्रिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शनिबार भेटवार्ता भएको छ। उनीहरुबीच शनिबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको हो। भेटमा भेनेजुएलासम्बन्धी विज्ञप्तिले उब्जाएको विवाद तथा पार्टी एकीकरणसम्बन्धी विषयमा कुराकानी भएको स्रोतले जनाएको छ।
‘दुई अध्यक्षका फरकफरक धारणा सार्वजनिक भएपछि त्यसले पार्टीभित्र अन्योल जन्माउनुका साथै विवाद पनि बढाइरहेका बेला दुई अध्यक्षको भेटले सार्थक रुप लिएको छ’, बालुवाटार स्रोतले भन्यो। स्रोतका अनुसार पार्टीभित्रकै नेताहरुले दुई अध्यक्षका भनाइलाई आआफ्नो तरिकाले व्याख्या गर्न थालेका थिए। दुई नेताबीच भेनेजुएला प्रकरणमा देखिएको विवादबारे सरकार र पार्टीको धारणा सार्वजनिक भइसकेको अवस्थामा अब त्यस विषयमा कहीं कतैबाट अर्को अभिव्यक्ति सार्वजनिक नगर्ने र तल्लो तहमा पार्टी एकीकरण प्रक्रिया तत्काल टुंग्याउने सहमति भएको छ।
भेनेजुएलाको आन्तरिक राजनीतिमा अमेरिकाले हस्तक्षेप गरेको भन्दै दाहालले कडा आलोचनासहितको वक्तव्य जारी गरेपछि त्यसलाई लिएर पार्टीभित्र मतभेद उत्पन्न भएको थियो। सो विज्ञप्ति प्रकरणमा पूर्व एमाले र पूर्व माओवादी केन्द्रका नेताहरुले बेग्लाबेग्लै धारणा सार्वजनिक गरेर विवाद थप उत्कर्षमा पु-याएका थिए। भेनेजुएला प्रकरणमा नेकपाका दुई अध्यक्ष ओली र दाहालबीच दोहोरी चलिरहेको थियो। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले बुधबार ‘जनतासँग प्रधानमन्त्री’ नामक टेलिभिजन कार्यक्रममा दाहालको वक्तव्यलाई ‘टङ स्लिप’ को रुपमा अथ्र्याएका थिए।
त्यसको प्रतिक्रियास्वरुप अध्यक्ष दाहालले बिहीबार चितवनमा सञ्चारकर्मीसँग ‘भेनेजुएला प्रकरणमा आफूले जारी गरेको वक्तव्यलाई पार्टी सचिवालयले आधिकारिक भनिसकेको अवस्थामा एउटा व्यक्तिले के भन्छ भन्ने कुराको अर्थ नहुने’ बताएका थिए। एउटा व्यक्ति भनेर दाहालले प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष ओलीलाई संकेत गरेका हुन्। ‘
दुई नेताबीच भेनेजुएला प्रकरणमा देखिएको विवादबारे सरकार र पार्टीको धारणा सार्वजनिक भइसकेको अवस्थामा अब त्यस विषयमा कहीं कतैबाट अर्को अभिव्यक्ति सार्वजनिक नगर्ने र तल्लो तहमा पार्टी एकीकरण प्रक्रिया तत्काल टुंग्याउने सहमति भएको छ।
यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।




