एक मात्र जीवित कम्युन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

एक मात्र जीवित कम्युन

adharshila kamyun

बर्दिवास, २७ माघ ।  कोही तरकारी काटिरहेका छन्। एकथरी भाँडा माझिरहेका छन्। चामलको जोहो गर्ने र सामान यताउति गर्नेहरूको चहलपहल छ। सानोतिनो भीड नै देखिन्छ। झट्ट हेर्दा लाग्छ, कुनै बिहेकार्जे वा सामाजिक कर्मको चाँजो हुँदैछ।

तर न यो बिहेकार्जे हो, न कुनै भोजभतेरको तयारी। महोत्तरीको बर्दिबास गौरिडाँडास्थित आधारशिला कम्युनमा हरेक बिहानबेलुका देखिने दृश्य हो यो।

कम्युनिस्टहरूले लामो समयदेखि समाज र जीवन बदल्ने सपना देख्दै-देखाउँदै आएका छन्। यही विचारसँग सहमत १३ परिवार आधारशिलामा सामूहिक बसोबास गर्छन्। यसको स्थापना २०५९ सालमा गरिएको थियो।

आधारशिला पुग्ने जोसुकैले महसुस गर्न सक्छ, यहाँको जीवन अन्यत्रभन्दा फरक छ। सामूहिक जीवनशैली छ। फरकफरक जातका मानिस एकै ठाउँ बस्छन्। उनीहरूको व्यक्तिगत सम्पत्ति छैन। कामको बाँडफाँड गरिएको छ। सदस्यले विभिन्न उत्पादनमूलक काम गर्छन् र कम्युनको खर्च धान्छन्।

तत्कालीन एकता केन्द्र मसालको राजनीतिक कार्यदिशाअनुसार यो कम्युन सुरु गरिएको थियो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यो अभियानको नेतृत्व गरेका थिए।

१३ वटै परिवारका सदस्यको गाँस, बास र कपासको आधार भएकाले कम्युनलाई आधारशिला नाम दिइएको छ। आधारशिलाका संस्थापक पोखरेलका अनुसार यहाँ बस्न आउनेले सुरुमै आफूसँग भएको सबै पैत्रिक सम्पत्ति अभियानलाई बुझाएका छन्। ‘हामीसँग कुनै बेला ४८ जनासम्म सदस्य थिए,’ पोखरेलले भने, ‘अहिले कुनै परिवारका सदस्य हुर्केर उच्च शिक्षाका लागि स्वदेश तथा विदेशका अन्य ठाउँमा गएकाले संख्या घटेको छ।’

सुरुमा कम्युनिस्ट दर्शनबाट प्रभावित भएर सिरहाको गोलबजारमा १८ जना बालबालिका जम्मा गरेर कम्युनको सुरुवात गरिएको थियो। तर बालबालिकाको पढाइ र लवाइ-खवाइको व्यवस्थाले मात्र कम्युनको मर्म पूरा नहुने नदेखिएको पोखरेल बताउँछन्। त्यसपछि एकैपटक १३ परिवारका सदस्यलाई भेला गरेर महोत्तरीको बर्दिबासमा सामूहिक बसोबासको सुरु गरियो।

दैनिक खर्च चलाउन आधारशिलाका सदस्यले विभिन्न व्यवसाय चलाइरहेका छन्। भाडामा जग्गा लिएर सामूहिक खेती गरेका छन्। जनमुखी स्वास्थ्य विकास सहकारी संस्था चलाएका छन्। महोत्तरीमै दर्पण एफएम सञ्चालनमा छ। ‘रुचि मसला उद्योग पनि थियो। सिराहामै कम्प्युटर पसल पनि चलाएका थियौं। तर यी व्यवसाय नाकाबन्दीपछि बन्द भयो,’ पोखरेलले भने।

कम्युनमा बस्ने मामिलामा कम्युनिस्ट विचारधारासँग सहमत व्यक्तिलाई प्राथमिकता दिइन्छ। सहिद परिवारका सदस्यलाई कुनै रोकटोक छैन। हरेक परिवारलाई एक-एक वटा कोठा दिइएको छ। थारु, यादव, महतो, तामाङ, बाहुन, क्षेत्री लगायतका जाति र समूदायका मानिस यहाँ छन्।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);