काठमाडौं, १३ माघ । ब्राजिलमा शुक्रबार फलाम खानीको बाँध भत्किएर आएको बाढीमा परी ३४ जनाले ज्यान गुमाएका छन् भने करिब ३ सय जना हराइरहेका छन् ।
ब्राजिलको दक्षिण–पूर्वमा अवस्थित खानी भत्किँएर आएको लेदोले मानवीय क्षति तथा हताहती भएको हो । हिलोसहितको बाढीले चमेनागृहमा खाजा खाइरहेकाहरुलाई बगाएको थियो । हराइरहेकाहरुको उद्धार तथा खोजी कार्यका लागि उद्धारकर्ताहरु लागिपरेका छन् ।
माटो पन्छाउने यन्त्रको सहायताले उद्धारको प्रयास भइरहे पनि जीवितै उद्धार हुने सम्भावना कम रहेको राज्यका गभर्नरले बताएका छन् । भत्किएको बाँध ब्राजिलकै सबैभन्दा ठूलो खानी कम्पनी भालीको हो । बाँध भत्कनुको कारण खुलेको छैन ।




