बाँदर समात्न ५ लाख बजेट | ईमाउण्टेन समाचार

Our Network

असार ८ २०८३, मंगलबार

बाँदर समात्न ५ लाख बजेट

monkey

सिन्धुपाल्चोक, १२ माघ । त्रिपुरासुन्दरी गाउँपालिकाले बाँदर नियन्त्रण गर्न बजेट विनियोजन गरेको छ । बाँदरले बालीनाली सखाप पारेको आवाज किसानहरूबाट आएपछि यसको नियन्त्रण गर्न गापाले ५ लाख विनियोजन गरेको हो ।

त्रिपुरासुन्दरी गाउँपालिका ३ का धुस्कुन चित्रेपाटीका कृषक भक्तबहादुर कार्कीलेबाँदर नियन्त्रण हुने आशा पलाएको बताए । बाँदरको हुलले आलु,साग, काउली उखेलेर हैरान बनाएपछि हामी दिक्क थियौं,’ उनले भने, ‘तीन वटा कुकुर राखेर खेद्दा पनि केही लागेन ।’ उनी मात्र होइन, गापाका कृषकहरूले स्थानीय सरकारलाई गुहारेपछि बजेट छुट्टयाइएको हो ।

दुई वर्षदेखि समस्या दोहोरिँदै आएपछिबल्ल गाउँपालिकाले बाँदर रोक्नका लागि चौथो गापाले बजेट छुट्टयायो । ‘बल्लवडाले बजेट ल्यायो, अब बाँदर केही
नियन्त्रण हुन्छ, ढुक्क भइयो,’ उनले सुनाए । व्यावसायिक रूपमा कृषि खेतीमा होमिएका कार्कीसँग बाँदर नियन्त्रण गर्न अनेक उपाय लगाएका थिए ।

बाँदर समातेर निकुञ्जमा छोड्नका लागि प्रक्रिया सुरु गरिएपछि धुस्कुन डाँडागाउँका बद्री भण्डारी त्यतिकै हौसिएका छन् । उनी तरकारी खेतीमा लागेका भण्डारी बाँदर आतंकबाट आजित थिए । ‘बाँदरको कुनै अहित होस् भनेको पनि होइन तर हूल बनेर आएपछि त्यत्रो तरकारी निमोठेर खेतमै सबै स्वाहा बनाउँछन्,’ उनले भने ।

आम्दानी लक्ष्य राखेर लगाएको बाली, तरकारी उखेलेर सिध्याउने भएपछि पटक पटक वडा र गाउँपालिकालाई गुनासो गरेको उनले सुनाए । बाँदरलाई कुनै चोटपटक नलाग्ने अवस्था बनाएर मात्रै नियन्त्रण गर्नुपर्ने फापरचौरका पदबहादुर थामीले सुझाए ।

अरनिको राजमार्गस्थित बाह्रबिसे बजारबाट पुग्न झन्डै आधा दिन लाग्ने पिस्कर, टेकानपुर, तौथली , चोकटी, घोर्थलीमा बाँदर आतंक चुनौती बनिसकेको स्थानीय कृषकको अनुभव छ । धुस्कुनको ढुंगेपाटी, पात्ले, फापरचौर, चित्रेपाटी, डाँडागाउँ, दाबी टोल, पतेरीमा बाँदरको बिगबिगी रहेकोले बाँदर नियन्त्रण अभियान शीर्षकमा बजेट विनियोजन गरेर प्रारम्भिक चरणको काम थालिएको त्रिपुरासुन्दरी गाउँपालिकाले जनाएको छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।