जसले छाउ बार्दैनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जसले छाउ बार्दैनन्

chaughot

काठमाडौं, ५ माघ । सुदूरपश्चिमको कलंक बनेको छ, छाउपडी प्रथा। यो कुरीतिका कारण अनगिन्ती चेलीबेटीले दुःख पाइरहेका छन्। कतिको ज्यान नै गएको छ। तर सुदूरपश्चिममै कतिपय समुदाय यस्ता छन्, जसले छाउ बार्दैनन्।

टीकापुर–४ छेगरखैलाकी हीरा चौधरी ४५ वर्षकी भइन्। १३ वर्षको उमेरदेखि उनको महिनावारी हुन थालेको थियो। तर, ६ सन्तान जन्माएकी उनले अहिलेसम्म छाउ बारेकी छैनन्। ‘हाम्रो छाउ बार्ने चलन छैन,’ उनी भन्छिन्, ‘महिनावारी भएको बेला दैनिक सरसफाइ गर्छौं, घरको सबै कोठामा जान्छौं, खाना पकाउँछौं।’ थारु समुदायमा छाउको चलन छैन।

टीकापुर–३ घियापुछरीकी ४७ वर्षीया बलरानी चौधरीलाई त छाउ बार्ने चलनबारे थाहा पनि छैन। उनी महिनावारी भएको बेला पूजाकोठामा मात्र जान्नन्। ‘पूजामा जानु हुँदैन, देउताको कोठामा जानु हुँदैन, श्राप लाग्छ भन्ने विश्वास छ। अरु सबै कुरा खुल्ला हो’ उनले भनिन्।

कैलालीको मोन्याल गाउपलिका–५ कटौजी स्थायी घर भएकी सुनीता बुढामगरलाई छाउगोठमा मृत्यु भयो भन्ने सुन्दा आचार्य लाग्छ। २६ वर्षकी उनलाई यो प्रथाबारे थाहै छैन। ‘छाउपडी प्रथा न त हाम्रो माइती घरमा मान्छन्, न त पोइली घर (पतिको घर) मै मान्छन्,’ हाल धनगढी उपमहानगरपालिका बसपार्कमा व्यवसाय गरेर बसेकी उनी भन्छिन्, ‘हरेक महिना महिनावारी हुन्छ, यसमा महिलाको के दोष ? यो त प्राकृतिक नियम हो नि !’

जानकी गाउँपालिका–७ गोलौरीकी २७ वर्षीया राधा महतौले थारु समुदायमा छोइछिटो नभएको बताइन्। ‘हामी महिनावारी भएको बेला सबै काम गर्छौं’ उनले भनिन्, ‘पुर्खाले देउताको कोठामा मात्रै नजानु भनेको त्यो मानेका छौँ।’

सौका समुदायमा पनि छैन छाउपडी

तराईका थारुमा मात्रै होइन, पहाड र हिमालमा बस्ने सौका समुदायमा पनि छाउ बार्ने चलन छैन। घरमा कुन महिलालाई महिनावारी भएको छ, अरुलाई थाहा नै हुँदैन। दार्चुला, बाजुरा र बझाङको हिमाली तथा दुर्गम भेगमा सौका समुदायको बसोबास छ। ‘हामी त महिनावारी भएको बेलामा सँगै बस्ने, सँगै सुत्ने र खाना खाने गर्छौं। अलग्गै सुत्ने, बस्ने र बार्ने हामीलाई थाहा छैन,’ दार्चुलाको ब्यास क्षेत्रकी मञ्जु तिंकरीले भनिन्, ‘भोटे समुदायमा बार्ने चलन छैन। भान्सा कोठामा जान कुनै रोकटोक हुँदैन।’

सुदूरपश्चिमका आदिवासी, मगर, गुरुङ, तामाङलगायत जातिमा छाउपडी बार्ने चलन नभएको आदिवासी जनजाति महासंघ सुदूरपश्चिम प्रदेशका सचिव दलबहादुर बुढामगर बताउँछन्। सुदूरपश्चिमका नौ वटै जिल्लामा आदिवासीहरुको बसोबास छ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);