छाउगोठ त्याग्दै घरभित्र बस्दै महिला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

छाउगोठ त्याग्दै घरभित्र बस्दै महिला

chhaupratha

बझाङ, १६ असार ।  महिनावारी भएका महिलालाई गर्ने विभेद जिल्लाभर व्याप्त रहेको भए पनि कुनैकुनै गाउँका महिलाले साहसपूर्वक छाउपडी प्रथाको विरोध गर्न थालेका छन् । सदियौंदेखि अन्धविश्वास तोड्न साहस गर्ने महिलालाई विभिन्न संघसंस्थाले सम्मानितसमेत गर्ने गरेका छन् ।

तलकोट गाउँपालिका–१ की ४१ वर्षीया महेश्वरी बम पहिलोपटक १४ वर्षको उमेरमा महिनावारी भएकी थिइन् । उनले जीवनका २७ वर्ष हरेक महिनाको ५÷६ दिन गोठमै बसेर बिताइन् । गोठमा बस्दा उनले भोगेको दुःख भनिसाध्य छैन । उनी भन्छिन्, ‘कसैले हालिदिएन भने तिर्खा लागेका बेला पानी पनि खान पाइँदैनथ्यो,’ लामो समय गोठमा बसेका कारण चिसो लागेर अहिले पनि उनका हातखुट्टा सुन्निने गर्छन् ।

गाउँभन्दा टाढा भएको एक मात्र साँघुरो छाउगोठमा कहिले गाउँभरिका महिला बस्न ठाउँ नहुने त कहिले एक्लै डराइडराइ बसेको, गोठमा ठाउँ नभएको दिन खेतको भित्तामा पाल टाँगेर बसेको अनुभव उनीसँग छ । बर्खायाममा शरीरमै सर्प खसेको जस्ता तीता सम्झना उनको दिमागबाट अझै हट्न सकेको छैन ।

सुरुमा महिनावारी हुँदा घरभित्रै बस्ने साहस तल्कोट गाउँपालिका–१ बेडालाकी चाँदनी बमले गरिन । उनले २०७३ सालको असार महिनामा महिनावारी भएको समयमा घरभित्रै बसेको बताइन् । ‘महिनावारी भएको समयमा घरनजिक आउनुहुँदैन, पानीका धारामा छुनुहुँदैन, देउता रिसाएर अनिष्ठ हुन्छ भन्ने मान्यताले जरो गाडेको समाजमा सुरुमा घरभित्र बस्दा समाजले कम्ती कुरा काटेन,’ उनले भनिन् । छाउपडी प्रथाका बारेमा बुझ्दै जाँदा छाउपडी प्रथा महिलामाथिको हिंसा हो भन्ने बुझ्दै गएकी चाँदनी बमले यी कुरा सुनेको नसुनेझै गरिन् । ‘तिन वर्षयता महिनावारी (छाउ) भएको समयमा घरभित्रै बस्छु, न देवीदेउता रिसाएका छन्, नत घरमा नै केही भएको छ, यो त खाली अन्धविश्वास मात्र रहेछ,’ उनले भनिन्, ‘हाम्रो सिको गर्दै अहिले गाउँका धेरै महिला घरभित्र बस्न थालिसकेका छन्, अहिलेसम्म कसैलाई केही भएको छैन ।’ यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);