छाउ गोठमा बस्ने महिला र बस्न लगाउने अभिभावकलाई समेत कारबाही गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

छाउ गोठमा बस्ने महिला र बस्न लगाउने अभिभावकलाई समेत कारबाही गरिने

chhaugoth

काठमाडौं, २१ पुस । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले महिनावारी भएका बेला गोठमा बस्ने महिला र बस्न लगाउने अभिभावकलाई कडा कारवाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

सोमबार बसेको समिति बैठकले संस्कारका नाममा गलत व्यवहार गर्ने कसैलाई छुट नहुने भन्दै जसको घरमा यो प्रचलन रहेको छ, त्यस्तो घरका अभिभावक र महिलालाई कारवाही गर्ने व्यवस्था मिलाउन गृहलाई निर्देशन दिएको हो ।

समन्वयका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई समेत निर्देशन दिइएको समिति सभापति नीरुदेवी पालले बताउनुभयो ।

समितिले गतवर्ष बाजुरा लगायतका जिल्लामा स्थलगत अध्ययन गरी अल्पकालिन र दिर्घकालिन सुझाव सहितको प्रतिवेदन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पठाइएको भएपनि कार्यान्वय नभएको र तत्काल रणनीति बनाएर प्राथमिकताका साथ कार्यान्वयनमा ल्याउन पनि निर्देशन दिइएको छ ।

‘उक्त प्रतिवेदनको पूर्ण कार्यान्वयन गर्न तत्काल रणनीति बनाइ प्राथमिकीकरण सहितको परिणाममुखि कार्यसम्पादन गर्न÷गराउन र आगामी दिनबाट कुनै पनि छाउ महिलाको मृत्यु हुने अवस्था आउन नदिने वातावरण बनाउन समिति गृृहमन्त्रालालयलाई निर्देशन दिन्छ । सो कार्यमा आवश्यक समन्वय गर्न सामान्य प्रशासन मन्त्रालय तथा महिला बालबालिका मन्त्रालयलाई समेत निर्देशन गर्छ’, समिति सभापति पालले भन्नुभयो ।

सामाजिक रुपान्तरणको संघारमा राज्य अगाडी बढिरहेका बेला संकीर्ण संस्कारगत नकारात्मक अवशेषको शिकार सोझा नागरिक हुनु दुःखद भएको भन्दै समितिले अमानविय संस्कारगत व्यवहार विरुद्ध सामाजिक ऐक्यवद्धता कायम गराउने वातावरण सिर्जना गर्न महिला, गृह, सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई समेत समितिले निर्देशन दिएको छ ।

यसैगरी सुदूरपश्चिम तथा कर्णाली प्रदेश एवं स्थानीय तहसँग समन्वय गरी तत्काल कार्यसम्पादन गर्न पनि महिला बालबालिका मन्त्रालयलाई निर्देशन दिइएको छ । यस्ता कुसंस्कारको अन्त्य गर्न आवश्यक बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयलाई पनि निर्देशन दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);