सिंगै गाउँ चारजनाको नाममा, गाउँले लालपुर्जाविहीन | ईमाउण्टेन समाचार

Our Network

साउन १० २०८१, बिहीबार

सिंगै गाउँ चारजनाको नाममा, गाउँले लालपुर्जाविहीन

lalpurjabihin gau

डोल्पा, ५ माघ । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–५ फुल्चिङका ६९ वर्षीय चन्द्रलाल चलाउनेको नाममा एक टुक्रा पनि जमिन छैन। घरअगाडिको प्रशस्त जमिनमा मिहिनेतका साथ अधियाँ खेती गरे पनि उनको परिवारलाई वर्षभरि जीविका चलाउन मुस्किल पर्छ।

कारण, उब्जनीको ६० प्रतिशत अन्नबाली तल्सिङलाई बुझाउनुपर्छ। गाउँमा उनको परिवार बसेको कैयौं पुस्ता बितिसकेको छ। जमिन नै नभएपछि उनको नाममा लालपुर्जा हुने कुरै भएन। केही फुल्चिङवासीसँग जमिन त छ तर ऐलानी भएका कारण लालपुर्जा छैन। भएका सबै नम्बरी जग्गा अन्य गाउँका चार व्यक्तिको नाममा रहेकाले त्यहाँका बासिन्दा लालपुर्जाविहीन बन्न पुगेका हुन्।

फुल्चिङगाउँमा ६५ घरधुरी छ। तीमध्ये २३ परिवारको नाममा एक टुक्रा पनि जमिन छैन। बाँकी परिवारसँग अलिअलि जग्गा भए पनि सबै ऐलानी हो। ‘वर्षभरि खनजोत गरेर बालीनाली लगाउँछौं। घरमा भित्र्याउने बेला जग्गाधनी आएर ६० प्रतिशत लैजान्छन्,’ अधियाँ खेती गर्दै आएकी हिउँकली चलाउनेले भनिन्, ‘वर्षभरिमा तीन महिना पनि खान पुग्दैन। नदिऊँ भने भने आफ्नो जग्गा होइन, भोकै पर्ला भनेर तल्सिङले बुझ्ने होइन।’

फुल्चिङगाउँको जग्गा फरक गाउँ र वडाका चारजनाकोे नाममा नापीनक्सा भएको स्थानीयको भनाइ छ। साबिकको लिकु गाविस र हालको त्रिपुरासुन्दरी नगरपालिका–१० का मोतीप्रसाद पहाडी, रत्नप्रसाद पहाडी, नारायण गिरी र रविलाल खत्रीका नाममा २०५२ मा सिंगो गाउँको जग्गा नापीनक्सा भएको पाइएको छ।

पुस्तौंदेखि आफूहरूले जग्गा कमाउँदै आएको र जग्गाधनीहरू त्यस गाउँमा नबस्ने भएकाले आफूहरूलाई धेरथोर मूल्य मिलाएर दिनुपर्ने फुल्चिङका समाजसेवी लोकबहादुर चलाउने बताउँछन्। पुर्खाको पालामा देवीदेवताको भ्रममा पारेर र राजनीतिक रबाफ देखाएर सिंगै गाउँको जग्गा हडपेर लिकु गाउँका ठालु जमिनदारहरूले आफूहरूमाथि अन्याय गरेको उनको दाबी छ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);