काठमाडौं, २८ पुस । जर्मन नागरिक माइकल कोबोल्डले नेपालमा शृंखलाबद्ध ठगीधन्दा चलाएको खुलेको छ । काठमाडौंका शक्तिशाली व्यक्तिसम्म पहुँच बनाएर कोबोल्डले सामान्य व्यक्तिदेखि सरकारी कार्यालयसमेतलाई झुक्याएको देखिन्छ ।
कोबोल्ड वाच कम्पनी, ग्रेट हिमालय ट्राभल एससिरिजलगायत कम्पनी चलाएका उनले कामदारको आर्थिक शोषण र झूटा कागजपत्रको सहारामा ठगीधन्दा चलाएको भेटिएको छ।
उनको ठगीधन्दा सुरु हुन्छ नेपाल फायर ट्रक एक्सपिडिसनबाट। एक्सपिडिसनअन्तर्गत अमेरिकाबाट सेकेन्ड हयान्ड दमकल ल्याउने, त्यससँगै विश्वका सेलिब्रेटीलाई बोलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रचारप्रसार गराउने र नेपालको पर्यटन प्रचार गर्ने उनको दाबी थियो। प्रख्यात हलिउड कलाकारहरू जोनी डिप, लेडी गागा, रिहानालगायतलाई ल्याएर नेपालको पर्यटन प्रवद्र्धन गर्ने भन्दै उनले नेपाल पर्यटन बोर्डलाई आफ्नो योजनामा सामेल गराएका थिए।
उनले काठमाडौंको कूटनीतिक नियोग र उच्च घरानियाँसँग सम्बन्धको फाइदा उठाउँदै स्याङजाको वालिङ नगरपालिकासँग पनि सम्पर्क बढाए। दमकल दिने र पर्यटन प्रवद्र्धन गर्ने दाबीसहित उनले नगरपालिकाबाट २० लाख रुपैयाँ लिए। यस्तै वाचा गरेर विराटनगर महानगरपालिकाबाट ५ लाख रुपैयाँ उम्काउन सफल भएको देखिन्छ। वालिङका मेयर दिलीपकुमार खाँणले सम्झौतापछि कोबोल्डले रकम लिएको स्विकारेका छन्।
पर्यटन बोर्डसँग सम्झौता गर्ने उनको संस्था सोरवे इन्स्टिच्युट फर डेभलपमेन्टका गतिविधि इन्टरनेटमा खोजी गर्दा भेटिँदैन। आफूले सम्झौता गर्न लागेको संस्थाको वैधानिक हैसियतसमेत नखोजी बोर्डले एक करोड रुपैयाँ दिएको खुलेको छ। बोर्डलाई झुक्याउन कोबोल्डले नेपालका लागि पूर्वअमेरिकी राजदूत स्कट एच डेलीसी र एलाइना बी टेप्लिजसँगको चिनजानलाई दुरुपयोग गरेको देखिन्छ।
बोर्डसम्बद्ध स्रोतका अनुसार कूटनीतिज्ञसँग पहुँच भएकै कारण बोर्डले अध्ययनबिनै उनको प्रस्ताव स्विकारेको थियो। बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी कोबोल्ड उच्च तहको पहुँच लिएर आएको स्विकार्छन्। उनका अनुसार कोबोल्डले अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीको समेत सिफारिस ल्याएका थिए।
राजदूत कार्कीले भने आफूले त्यस्तो कुनै सिफारिस नगरेको र ती व्यक्तिसँग चिनाजानीसमेत नभएको बताए। यस्तो दाबी गरे पनि उनको हस्ताक्षरमा लेखिएको सिफारिसपत्र अनुसन्धान क्रममा फेला परेको छ।
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।