काठमाडौं, २३ पुस । एक खेल अगाडि नै उपविजेता पक्का भएको संकटा क्लबले आफ्नो अन्तिम खेलमा धक्का खाएको छ ।
सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आफ्नो अन्तिम लिग खेलमा विभागीय टिम एपीएफ क्लबसंग २ – १ गोल अन्तरले पराजित भए पछि धक्का खाएको हो । सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा संकटा क्लब विभागीय टिम एपीएफ क्लबसंग २ – १ गोल अन्तरले पराजित भएको हो ।
एपीएफलाई जित दिलाउन युवराज खड्का र राजन गुरुङले एक एक गोल गरे भने संकटाका लक्ष्मण रुचालले सान्त्वना एक गोल फर्काएका थिए । खेलको २३ औं मिनेटमा युवराजले काउन्टर गोल गर्दै एपीएफलाई १ – ० को अग्रता दिलाएका थिए । खेलको ७१ औं मिनेटमा राजनले हेड गोल गर्दै एपीएफलाई २ – ० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा संकटाका लक्ष्मणले फ्रि किकबाट एक गोल गरेपनि संकटाको हार टार्न सकेनन् ।
यो हारसंगै उपविजेता बनेको संकटाले लिगको १३ खेलबाट २८ अंक जोड्न सफल भएको छ । जितसंगै एपीएफ भने शीर्ष पाँचमा अटाएका छन् । एपीएफले २३ अंक जोडेर पाँचौ स्थानमा रहदै लिगको सुखद् अन्त्य गरेको छ ।