सन् २०१८ मा विश्व शेयर बजार दशककै कमजोर | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

सन् २०१८ मा विश्व शेयर बजार दशककै कमजोर

bishwa share

काठमाडौं, १७ पुस । सन् २०१८ मा विश्व शेयर परिसूचकका लागि दशकयताकै ठूलो कमी आएको छ । विश्वका प्रमुख शेयर परिसूचकमा यस वर्ष ठूलो कमी आएको छ ।

नयाँ वर्षको पूर्वसन्ध्यामा बजार बन्द हुँदा लन्डन स्टक एक्सचेन्ज वर्षको शुरुआतभन्दा १२ प्रतिशत घटेको छ । त्यसैगरी, ठूला यूरोपेली र एशियाका शेयर बजारमा पनि यस वर्ष त्यसै किसिमको कमी आएको छ । त्यस्तै, अमेरिकी प्रमुख शेयर सूचकमा पनि सन् २००८ को आर्थिक संकटयताकै ठूलो कमी आएको छ । अमेरिका–चीनबीचको व्यापारयुद्ध र विश्वको सुस्त आर्थिक वृद्धि सूचकमा ठूलो कमी आउनुको कारण रहेको बताइएको छ ।

विश्लेषकहरूले अमेरिकाको राजनीतिक अनिश्चितता र ब्याजदरको वृद्धिको असर पनि शेयर बजारमा परेको बताएका छन् । यो वर्ष सकिन लाग्दा अमेरिकाले अझै पनि आंशिक बन्दको सामना गरिरहेको छ । व्यापार करबारे जस्तालाई त्यस्तै व्यवहार गर्ने नीतिले पनि वर्षभर लगानीकर्ताहरूमा दबाब बढाएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र केन्द्रीय बैंकबीचको विवादले पनि बजारमा थप अन्योल बढाएको हो ।

सन् २०१८ मा प्रमुख अमेरिकी शेयर परिसूचक दाउ जोन्स ७ दशलमव १ प्रतिशत घटेको छ । सन् २०१७ मा अमेरिकाको कर कटौती तथा रोजगारीमा सुधारको नीति पारित भएसँगै त्यसको प्रभावले अमेरिकाको शेयर बजारलाई केही टेवा दिएको हो ।

त्यसैगरी, यूरोपमा पनि इटालीको बजेटबारे ईयूसँगको विवाद, जर्मन चान्सलर एन्जेला मर्केलको सत्ताबारे देखिएको अन्योल र फ्रान्समा ‘एल्लोभेस्ट’ आन्दोलनले यूरोपेली शेयर बजार प्रभावित भएका हुन् । ब्रेक्जिटसम्बन्धी विवाद पनि समग्र यूरोपेली शेयर बजार घट्नुको कारण हो ।

सोमवार बजार बन्द हुँदासम्म हङकङको हाङसेङ सन् २०१८ को शुरुआतभन्दा १४ प्रतिशत घटेको छ । सो अवधिमा जापानी शेयर सूचक निक्केई १५ प्रतिशत घटेको छ भने चीनको साङ्हाई कम्पोजिट २२ प्रतिशत घटेको छ । विश्वका केही शेयर सूचक भने नयाँ वर्षको पूर्वसन्ध्यामा चीन र अमेरिकाबीच सम्बन्ध सुध्रिने संकेतसँगै बढेका छन् । एजेन्सी