टेकेन्द्र वस्याल
बाँके, १४ पुस । विगतका दिनहरुमा कच्ची, खाल्डा र धुलाम्मे सडकबाट आवातजावत गर्नुपर्ने बाँकेको विकट नरैनापुरका बस्तीहरुमा अहिले नाला र पक्की सडक बनिरहेका छन् । गाउँपालिकाले यहाँ ६ वडाका बस्तीहरुका बाटाहरुमा बार्षिक ५ करोड पिसीसी ढलानमा लगानी गरेर साँघुरा बस्ती र बाटालाई फराकिला र पक्की बनाउन शुरु गरेको हो ।
गाउँपालिकाको निर्णयको स्वागत गर्दै यहाँका नागरिकले स्वस्फुर्त घरहरु भत्काउँदै ६ मिटर चौडा सडक बनाउन सहयोग गरिरहेका छन् ।
पक्की पिसीसी ढलान र नाला निर्माणले बस्ती चौडा र आवतजावतमा सहज भैईरहेको छ । पिसीसी ढलान २० बर्ष सम्म टिक्ने गाउँपालिकाको दावी छ ।
यहाँ ट्याक्टरहरु बालुवा, ढुंगा बोकेर अत्याधिक गुड्ने हुँदा बाक्लो बस्तीमा रहेका सडकहरु बर्षातमा हिलो र हिउँदमा धुलाले सताउँदै आएको थियो । गत बर्षको बजेटबाट सडक ढलान गरिएका कारण बस्तीमा स्थानीय सरकारको आभास भैईरहेको आफुले पनि वल्ल महुशुस गरेको नैरानापुर गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले बताए ।
यो सडकमा गत बर्षदेखि बार्षिक ५ करोड बढी लगानीमा सिमेन्टको पिसीसी ढलान भैईरहेको छ । गाउँपालिकाले ग्राभलिङ्ग र कच्ची सडक भन्दा लामो समय टिकाउ र स्तरीयका लागि पिसीसी ढलान थालेको हो ।