जुम्लाका जनप्रतिनिधिको पाँच वर्ष : आठै पालिकाका सबै वडा सडक सन्जालमा जाेडिए | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०७९, शुक्रबार

जुम्लाका जनप्रतिनिधिको पाँच वर्ष : आठै पालिकाका सबै वडा सडक सन्जालमा जाेडिए

जुम्ला । जुम्लाका जनप्रतिनिधिले पाँच वर्षे कार्यावधि सडक निर्माणमै बिताएका छन् । याे अवधिमा यहाँका आठ स्थानीय तहका सबै ६० वडामा सडक पुगेकाे छ । तर, निर्वाचनअघि  कृषिमा आधुनिककरण, पर्यटकीय क्षेत्रकाे विकास, शिक्षा स्वास्थ्यलाई पहिलो प्राथमिकता दिने घाेषाणा गरे पनि सबैजसाे जनप्रतिनिधले बजेटकाे अिधकांश हिस्सा सडक निर्माणमा खनाएका छन् ।

सदरमुकाम खलंगासहित कर्णाली राजमार्गले छोएका केही गाउँठाउँ राष्ट्रिय सडक सञ्जालमा २०६३ सालमै जोडिएका थिए । तर, बाँकी गाउँबस्ती भने सडक सञ्जालमा जोडिएका थिएनन् । यही कारण सडक विकासपछि मात्रै अन्य विकासको ढोका खुल्ने भन्दै  जनप्रतिनिधिले पहिलो वर्षदेखि नै सडकसहितको पूर्वाधार विकासलाई प्रथामिकतामा राखेकाे बताएका छन् । 

तातोपानी गाउँपालिकाले चार वर्षमा करिब ७३ किलोमिटर सडक निर्माण गरेको छ । पालिकामा ७३ दशमलव ३ किलोमिटर सडक निर्माण भएको तातोपानीका प्रमुख प्रशासकीय अधिकृत मिलन बुड्थापाले बताए । उनका अनुसार साढे चार वर्षमा सबैभन्दा बढी वडा नम्वर ४ को हाँकु, गौतमबाडा, नियापानी १९ दशमलव ९५ किलोमिटर र सबैभन्दा कम वडा नम्वर २ जर्मी, बाबिरा, डाँगीबाडामा ३ दशमलव ३७ किलोमिटर सडक निर्माण भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत बुड्थापाका अनुसार भौगोलिक हिसाबले जिल्लाकै विकट मानिने तातोपानी वडा नम्वर ७ मा ७ दशमलव २८ किलोमिटर, वडा नम्वर ८ मा ९ दशमलव ६७ किलोमिटर सडक निर्माण भएको छ । वडा नम्वर १ राँका बाइराँकामा ९ दशमलव २१ किलोमिटर, वडा नम्वर ३ लिताकोटमा ६ दशमलव ९१ किलोमिटर, वडा नंं. ५ मा ९ दशमलव ५७ किलोमिटर र वडा नंं. ६ मा ७ दशमलव ७ किलोमिटर गरी जम्मा ७३ दशमलव ३ किलोमिटर सडक निर्माण भएको छ । उनले भने-पालिकाको विकट क्षेत्र भनेको भेरीखोला हो । ८ नम्वर वडाको थलाले गाउँबाहेक अन्य गाउँमा सडक पहुँच पुगेकाे छ । चालु आवमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट थलालेमा पनि बाटो निर्माण गरिने छ।

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले भने- पालिकाको लगानीमा पक्की पुल निर्माण भने सम्भव भएन । हामीले आधारभूत विकास गरिरहेका छौँ ।पुल निर्माणका लागि सङ्घ प्रदेशमा धाइरहेका छौँ । ढिलो चाँडो गाउँगाउँमा गाडी पुग्छ । गाउँगाउँमा सडक पुगे गतिला सडक नबन्दा अझै पनि यहाँका कृषि उत्पादन बजारसम्म पुग्न नसकेकाे स्थानीय लोकबहादुर दमाईको गुनासो छ । 

हिमा गाउँपालिकाले करिब ५७ किलोमिटर सडक निर्माण गरेको जनाएको छ । हिमा गाउँपालिकाका सातै वडाका साढे तीन दर्जन बस्तीलाई यातायातको पहुँचमा ल्याउने उद्देश्यले ५७ किलोमिटर सडक निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताए । उनले भने-पालिकाका सबै बस्तीमा सडक पुगे पनि नियमित गाडी गुड्न भने बाँकी छ ।  हिमा पालिकाका प्राविधिक प्रवेश देवकोटाले भने चार वर्षमा निर्माण भएको करिब ५७ किलाेमिटर सडकमध्ये कतै स्तरवृद्धि र कतै आरसीसी भइरहेको छ ।

गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले सडक, शिक्षा, स्वास्थ्य कृषि क्षेत्रलाई प्राथमिकता दिँदै बजेट लगानी गर्दै आएको बताए । उनले भने-पालिकाका सबै बस्तीमा सडक पुगेका छन् । केही गाउँमा गाडी पुग्न बाँकी छ । सडक स्तरवृद्धि गरेर कार्यकालभरमा गाउँमा गाडी पुर्‍याउने लक्ष्य राखेका छौँ ।

तिला गाउँपालिका वडा नम्बर ७, ८ र ९ मा पर्ने जुम्लाकोट, मालापानी, राँसा, खोप्री, सुडी, घोडेमहादेव निकै दुर्गम र विकट बस्ती हुन् । यी गाउँबस्तीमा सडक खनिए पनि राष्ट्रिय सडक सञ्जालमा भने जोडिएका छैन । तिला गाउँपालिका वडा नम्बर १ रारालिहिस्थित तिला नदीमाथि पक्की पुल नबनेकाले यी बस्ती राष्ट्रिय सडक सञ्जालमा नजोडिएका हुन् । वडा नम्बर ९ मालापानीका स्थानीय मानबहादुर बुढाले भने- स्थानीय सरकार नआएको भए यो ठाउँमा सडक पुग्न अझै कयौँ वर्ष कुर्नुपर्ने अवस्था थियो । तर, संघ, प्रदेश र स्थानीय सरकारको पहलमा सडक पुग्यो । अब गाडी गुड्ने पर्खाइमा छौँ । 

सडक बने पनि सवारीसाधन नचल्दा यहाँका बासिन्दा खच्चर र भरियाकै भरमा छन् । दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामग्री खच्चर र पिठ्युँमै ओसारपसार गर्ने गरिन्छ । गाउँघरमा सडक पुगेपछि स्थानीय खुसी छन् । सडक पुगेपछि गाडी पनि गाउँघरमै पुग्छ भन्ने आशा पलाएको उनी बताउँछन् ।

यो क्षेत्रमा सडक खन्ने प्रयत्न संघीयता आउनुअघि नै भए पनि स्थानीय सरकारले चार वर्षको अवधिमा सडक पुर्‍याएको हो । करिब पाँच करोड रुपैयाँ बचेट खर्चेर निर्माण गरिएका सडकले दैनिकी सहज बनाउने अपेक्षा स्थानीयको छ । यो क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालमा जोड्न सडक डिभिजन कार्यालय जुम्लाको १३ करोड रुपैयाँ लागतमा तिला नदीमाथि पक्की पुल निर्माण गर्ने तयारी गरेकाे छ । दुई वर्षमा पक्की पुल निर्माण गर्ने सम्झौतामा उल्लेख गरिएको तिला गाउँपालिकाले जनाएको छ । तिलागाउँपालिकाका उपाध्यक्ष विष्णुमाया बुढाले भनिन्, ‘स्थानीय सरकार आएपछि गाउँगाउँमा सडक पुग्नु निकै ठूलो उपलब्धि ठानेका छौँ । सडकले गर्दा दूरदराजमा उत्पादित फलफूल, अन्नपात सबै बजारसम्म लैजान सहज हुनेछ । यो पालिकाको उपलब्धि हो ।’ 

Leave a Reply